काठमाडौं । मनाङको नार्पाभूमि गाउँपालिका-५ स्थित हिमलुङ हिमालमा हिउँपहिरोमा परी बेपत्ता भएकामध्ये थप तीन जनाको शव फेला परेको छ।
मनाङका सहायक प्रमुख जिल्ला अधिकारी तथा सूचना अधिकारी कृष्णप्रसाद पौडेलका अनुसार बुधबार गोरखाका आश गुरुङ, खोटाङका सुरज राई र रुकुमका कलम बुढाको शव फेला परेको हो।
उनीहरू हिमालय होलिडेजसँग आबद्ध रहेको प्रशासनले जनाएको छ। यसअघि चार जनाको शव फेला परिसकेको थियो। थप तीन जनाको शव भेटिएसँगै मृतकको संख्या सात पुगेको छ भने अझै नौ जना बेपत्ता छन्।
बेपत्तामध्ये हिमालय होलिडेजका सात र इम्याजिन नेपालका दुई जना रहेको प्रशासनले जनाएको छ।
बेपत्ताको खोजी तथा शव निकाल्न हिमलुङ क्षेत्रमा खोज तथा उद्धार टोली परिचालन गरिएको छ। नेपाल नेसनल माउन्टेन गाइड एसोसिएसनका अनुसार आईएफएमजीए माउन्टेन गाइड पासाङ काजी शेर्पा र विक्रम कार्कीको नेतृत्वमा उद्धार टोली परिचालन गरिएको छ।



