काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुन:स्थापनाका लागि हाम्रो सनसाइन स्कुल फाउन्डेसनले २५ लाख रुपैयाँ सहयोग गरेको छ।
फाउन्डेसनका सचिव तथा हाम्रो सनसाइन स्कुलका प्रधानाध्यापक दिवेश खत्रीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी २५ लाख रुपैयाँको चेक सूचना तथा सञ्चार मन्त्री डा. विक्रम तिमिल्सिनालाई हस्तान्तरण गरेका हुन्।
फाउन्डेसनका अनुसार शिक्षक, कर्मचारी तथा संस्थाका सदस्यहरूबाट रकम संकलन गरी विपद् प्रभावितका लागि सहयोग उपलब्ध गराइएको हो।
चेक हस्तान्तरण कार्यक्रममा सञ्चार मन्त्री डा. तिमिल्सिनाले विपद्का बेला फाउन्डेसनले गरेको सहयोगप्रति आभार व्यक्त गरे। उनले बाढी प्रभावितको राहत तथा पुन:स्थापनालाई सरकारले प्राथमिकतामा राखेर काम गरिरहेको बताए।
फाउन्डेसनका सचिव खत्रीका अनुसार हाम्रो सनसाइन स्कुलले विगत २५ वर्षदेखि आर्थिक रूपमा विपन्न बालबालिकालाई नि:शुल्क शिक्षा प्रदान गर्दै आएको छ। विद्यालयले विद्यार्थीका लागि दिवा खानाको समेत व्यवस्था गर्दै आएको उनले जानकारी दिए।
काठमाडौँको बौद्धमा रहेको विद्यालयमा कक्षा १२ सम्म अध्ययन-अध्यापन हुँदै आएको छ।



