काठमाडौँ। नेपाली काँग्रेसका महामन्त्री गुरुराज घिमिरेले राजनीतिको सार्थकता जनताको जीवनस्तर सुधार, राष्ट्रको सुरक्षा र प्रतिष्ठामा देखिनुपर्ने बताएका छन्।
लामो समय विभिन्न दलले मुलुकको नेतृत्व गरे पनि जनतामा रहेको निराशा चिर्न नसकिएको स्वीकार गर्दै उनले नागरिकका समस्या समाधानलाई राजनीतिको केन्द्रमा राख्न आग्रह गरेका छन्।
काठमाडौँको खुलामञ्चमा आइतबार सुरु भएको काँग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहमा घिमिरेले लोकतन्त्रको मूल्य जनताको सहभागिता, सम्मान र समुन्नतिसँग जोडिने बताएका छन्।
‘अन्तिम पंक्तिमा उभिएको नागरिकको जीवन बदल्न सक्नु नै वास्तवमा लोकतन्त्रको सार हो,’ उनले भनेका छन्।
राजनीतिक नेतृत्वले प्रश्नको जवाफ खोज्नुपर्ने
घिमिरेले लोकतन्त्र सही दिशामा अघि बढिरहेको छ कि छैन र राजनीतिले आफ्नो उद्देश्य पूरा गरिरहेको छ कि छैन भन्ने प्रश्न सबै राजनीतिक दल र नेतृत्वमाथि उठिरहेको बताएका छन्। कार्यक्रममा उपस्थित प्रमुख दलका शीर्ष नेताहरूलाई सम्बोधन गर्दै उनले ती प्रश्नको जवाफ खोज्ने साझा दायित्व रहेको उल्लेख गरेका छन्।
‘यदि हामीले यी प्रश्नको समुचित जवाफ खोज्न सक्यौँ भने लोकतन्त्र पनि सार्थक हुन्छ, राजनीति पनि सार्थक हुन्छ र राजनीतिको अभीष्ट पनि पूरा हुन्छ,’ उनले भनेका छन्।
उनले जनताको समुन्नत जीवनसँगै राष्ट्रको सुरक्षा, प्रतिष्ठा र छिमेकी मुलुकसँगको सुमधुर सम्बन्धलाई राजनीतिको सार्थकताका आधारका रूपमा प्रस्तुत गरेका छन्। लोकतन्त्रका नाममा प्राप्त अवसरभन्दा नागरिकका समस्याको समाधान मुख्य हुनुपर्ने उनको भनाइ छ।
पुस्तान्तरणसँगै नागरिकको अपेक्षा सम्बोधनमा जोड
काँग्रेसका संस्थापक बिपी कोइरालाको सपना स्मरण गर्दै घिमिरेले समुन्नत देश र सुखी जनता नै पार्टीको मुख्य लक्ष्य हुनुपर्ने बताएका छन्। उनले महाधिवेशनले नेतृत्वमा पुस्तान्तरणको प्रक्रियालाई सार्थक बनाउने विश्वास व्यक्त गरेका छन्।
सहिदको बलिदान र आन्दोलनबाट प्राप्त उपलब्धि जोगाउँदै नागरिकको भावनाअनुसार पार्टीलाई अघि बढाउनुपर्ने चुनौती रहेको उनको भनाइ छ। घिमिरेले महाधिवेशन प्रतिनिधिहरूलाई जनताको जीवनमा परिवर्तन ल्याउने नयाँ संकल्पसहित अघि बढ्न आह्वान गरेका छन्।



