काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले पार्टीका नेता, जनप्रतिनिधि र कार्यकर्ताको राजनीतिक आचरण व्यवस्थित गर्न १७ बुँदे मापदण्डसहितको राजनीतिक प्रस्ताव प्रस्तुत गरेका छन्।
काठमाडौँमा जारी पार्टीको १५औँ महाधिवेशनमा प्रस्तुत प्रस्तावको खण्ड ९.७ मा काँग्रेसले अंगीकार गर्ने र निषेध गर्ने राजनीतिक व्यवहारका मापदण्ड समेटिएका छन्। प्रस्तावमा चुनावी गठबन्धन नगर्ने, भ्रष्टाचारमा मुछिएकालाई संरक्षण नदिने तथा गुट वा पैसाका आधारमा उम्मेदवारको टिकट वितरण नगर्ने प्रतिबद्धता उल्लेख छ।
संवैधानिक नियुक्तिमा दुई वर्षको ‘कुलिङ अफ’ अवधि लागू गर्ने र बिचौलियाको प्रभाव रोक्ने नीति पनि प्रस्तावमा समेटिएको छ।
यी मापदण्डको कार्यान्वयन नेतृत्वको सदिच्छामा मात्र निर्भर नराखी विधान, कार्यविधि, अभिलेख र सार्वजनिक समीक्षामार्फत सुनिश्चित गर्ने प्रस्ताव गरिएको छ।
अरूसँग अपेक्षा गरिएका मापदण्ड पार्टीले आफ्नै निर्णयमा पनि लागू गर्नुपर्ने दस्तावेजमा उल्लेख छ। त्यसलाई पार्टीको विश्वसनीयताको आधारका रूपमा प्रस्तुत गरिएको छ।







