काठमाडौँ । नेकपा (एमाले)ले फागुन २१ को प्रतिनिधि सभा निर्वाचनमा पार्टीले व्यहोरेको पराजयलाई अध्यक्ष केपी शर्मा ओलीको व्यक्तिगत असफलताका रूपमा मात्र व्याख्या गर्न नमिल्ने निष्कर्षसहित अन्तरपार्टी निर्देशन (अपानि)जारी गरेको छ।
तेस्रो केन्द्रीय कमिटी बैठकपछि जारी अपानिमा निर्वाचन परिणामलाई पार्टीको आन्तरिक कमजोरीसँगै तत्कालीन राजनीतिक परिस्थिति, मतदाताको मनोविज्ञान, बाह्य वातावरण, डिजिटल माध्यमको प्रभाव र संगठनात्मक अवस्थाको समग्रतामा विश्लेषण गरिएको छ।
अपानिमा निर्वाचनको हार बाह्य कारणको मात्र परिणाम नभएको स्वीकार गर्दै पार्टीभित्रका कमजोरीलाई पनि त्यसको कारक मानिएको छ। तर त्यसको सम्पूर्ण जिम्मेवारी अध्यक्षमाथि मात्रै केन्द्रित गर्न नहुने निष्कर्ष प्रस्तुत गरिएको छ।
एमालेको तेस्रो केन्द्रीय कमिटीले ओलीद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदन सर्वसम्मत पारित गरेको थियो। पार्टीले उक्त प्रतिवेदनलाई तल्लो तहसम्म लागू हुने नीतिका रूपमा अघि बढाएको छ।
जिम्मेवारी स्वीकार, नेतृत्व नछोड्ने सन्देश
अपानिमा अध्यक्ष ओलीले निर्वाचन परिणाममा अध्यक्षका रूपमा आफ्नो हिस्साको जिम्मेवारी स्वीकार गरेका छन्। तर पराजयपछि नेतृत्वबाट अलग हुनुपर्ने तर्कलाई भने उनले स्वीकार गरेका छैनन्।
“अध्यक्षका रूपमा आफ्नो भागको जिम्मेवारी स्वीकार गर्छ। तर म यो पनि भन्छु– यो समय भाग्ने समय होइन, यो समय दोषारोपणमा अल्झिने समय पनि होइन,” अपानिमा ओलीको भनाइ उद्धृत गरिएको छ।
यससँगै निर्वाचन परिणामपछि एमालेभित्र उठेको नेतृत्व पुनर्गठनको बहसका बीच ओलीले तत्काल अध्यक्षबाट अलग नहुने सन्देश दिएका छन्।
गत निर्वाचनपछि एमालेभित्र नीति र नेतृत्व पुनर्गठनको विषय बहसमा आएको थियो। तेस्रो केन्द्रीय कमिटी बैठकअघि पनि निर्वाचन पराजयको समीक्षा र नेतृत्व पुनर्गठन बैठकका प्रमुख राजनीतिक मुद्दामध्ये थिए।
हारका कारणमा आन्तरिक कमजोरी पनि
अपानिले निर्वाचन परिणामका लागि बाह्य परिस्थितिलाई मात्र जिम्मेवार बनाएको छैन। पार्टी संरचना र संगठनात्मक कमजोरीलाई समेत पराजयका कारणका रूपमा औँल्याइएको छ।
निर्वाचन परिणामलाई पार्टी संरचना, तत्कालीन समयको मनोविज्ञान, बाह्य वातावरण, डिजिटल माध्यमबाट भएका प्रहार, चुनावी परिस्थिति तथा संगठनात्मक कमजोरीको संयुक्त परिणामका रूपमा विश्लेषण गरिएको छ।
तेस्रो केन्द्रीय कमिटीमा प्रस्तुत राजनीतिक प्रतिवेदनमा पनि संगठन विस्तारअनुसार सुदृढीकरण हुन नसकेको, युवा पुस्ताको बदलिँदो मनोविज्ञान बुझ्न ढिलाइ भएको तथा डिजिटल युगअनुकूल सञ्चार संयन्त्र प्रभावकारी बनाउन नसकिएको विषय उठाइएको थियो।
केन्द्रीय कमिटीका निर्णय पनि अपानिमार्फत तल्लो तहमा
अपानिमा तेस्रो केन्द्रीय कमिटीबाट भएका विभिन्न सांगठनिक निर्णयसमेत समेटिएका छन्। उक्त बैठकले अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदन र २२ बुँदे समसामयिक प्रस्ताव पारित गर्नुका साथै केन्द्रीय कमिटी र स्थायी कमिटीमा मनोनयनलगायत निर्णय गरेको थियो।
बैठकले पूर्वराष्ट्रपति तथा पार्टीकी पूर्वउपाध्यक्ष विद्यादेवी भण्डारीलाई पार्टी नेतृत्वको दोस्रो वरीयतामा रहने गरी वरिष्ठ नेतामा मनोनीत गरेको थियो।
एमालेले तेस्रो केन्द्रीय कमिटीपछि पार्टीभित्र ‘उन्नतस्तरको समझदारी र सुदृढ एकता’ कायम भएको दाबी गर्दै निर्वाचन परिणामबारे पार्टीभित्र देखिएका फरक बुझाइलाई बैठकले नीतिगत रूपमा सम्बोधन गरेको जनाएको छ।
निर्वाचन पराजयको जिम्मेवारी स्वीकार गर्ने तर त्यसलाई नेतृत्व परिवर्तनको आधार नमान्ने ओलीको धारणा अपानिमा समेटिएसँगै एमालेले चुनावी हारको समीक्षा र नेतृत्वसम्बन्धी बहसलाई तत्काल नेतृत्व परिवर्तनभन्दा पार्टी पुनर्निर्माण र संगठनात्मक सुधारतर्फ केन्द्रित गर्न खोजेको देखिएको छ।



