काठमाडौँ । मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारभित्र छाडा कुकुरको समस्या फेरि गम्भीर बन्दै गएको छ। परिसरमा कुकुरको संख्या बढेसँगै कर्मचारी तथा सेवाग्राही त्रसित बनेका छन् भने कुकुरको आक्रमणमा कर्मचारी घाइते हुने घटना पनि दोहोरिन थालेका छन्।
विभिन्न मन्त्रालय तथा केन्द्रीय सरकारी निकाय रहेको सिंहदरबारमा दैनिक हजारौँ कर्मचारी, सेवाग्राही र अन्य व्यक्तिको आवतजावत हुन्छ। उच्च सुरक्षा र व्यवस्थित प्रशासनिक क्षेत्र मानिने यही परिसरमा छाडा कुकुरको उचित व्यवस्थापन हुन नसक्दा पैदल हिँड्ने र दुईपाङ्ग्रे सवारी प्रयोग गर्नेहरू जोखिममा परेका हुन्।
कर्मचारीहरूका अनुसार विशेषगरी बिहान तथा कार्यालय छुट्ने समयमा कुकुरहरू समूह बनाएर हिँड्ने गरेका छन्। पैदल हिँडिरहेका कर्मचारीलाई झम्टिने तथा मोटरसाइकल र स्कुटरलाई लखेट्ने गरेका कारण दुर्घटनाको जोखिमसमेत बढेको उनीहरूको भनाइ छ।
कतिपय कर्मचारी कुकुरको आक्रमणमा परी घाइतेसमेत हुने गरेका छन्। कुकुरको डरकै कारण कतिपयले नियमित हिँड्ने बाटो परिवर्तन गर्नुपर्ने अवस्था आएको कर्मचारीहरू बताउँछन्।
देशकै प्रमुख प्रशासनिक केन्द्र तथा संवेदनशील परिसरमा लामो समयदेखि देखिएको यस्तो समस्या समाधान हुन नसक्नुले सिंहदरबारको आन्तरिक व्यवस्थापनमाथि नै प्रश्न उठाएको छ। कर्मचारीहरूले कुकुरको संख्या नियन्त्रणसँगै नियमित बन्ध्याकरण, रेबिजविरुद्धको खोप, निगरानी तथा जोखिमयुक्त क्षेत्रमा आवश्यक व्यवस्थापन गर्नुपर्ने बताएका छन्।
सिंहदरबारमा कुकुर व्यवस्थापनको विषय नयाँ भने होइन। यसअघि पनि कुकुरका कारण कर्मचारी तथा सेवाग्राहीले भोग्नुपरेको समस्या र व्यवस्थापनको आवश्यकता उठ्दै आएको छ। प्रशासन डटकमले समेत यसअघि सिंहदरबारभित्रका छाडा कुकुरको समस्या र व्यवस्थापनको विषय समाचारमार्फत उठाइसकेको छ।
समस्या देखिएपछि व्यवस्थापनको चर्चा हुने तर केही समयपछि अवस्था फेरि उस्तै बन्ने क्रमले यसको दीर्घकालीन समाधान हुन नसकेको देखाउँछ।
एकातिर कर्मचारी तथा सेवाग्राहीको सुरक्षा सुनिश्चित गर्नुपर्ने आवश्यकता छ भने अर्कोतिर कुकुरको पनि मानवीय र वैज्ञानिक ढङ्गबाट व्यवस्थापन गर्नुपर्ने दायित्व सम्बन्धित निकायको हो। कुकुरलाई अन्यत्र सारेर मात्रै समस्या समाधान हुने होइन। नियमित बन्ध्याकरण, खोप, स्वास्थ्य परीक्षण, आक्रामक वा बिरामी कुकुरको पहिचान तथा उचित व्यवस्थापन आवश्यक देखिन्छ।
देशभरका सरकारी निकायलाई नीति, निर्देशन र प्रशासनिक व्यवस्थापनको बाटो देखाउने सिंहदरबार आफैँ वर्षौंदेखि देखिएको समस्या समाधान गर्न नसक्ने हो भने प्रश्न उठ्छ– सिंहदरबारका छाडा कुकुरको दिगो व्यवस्थापन आखिर कहिले हुन्छ ?



