म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिका-१ बेगमा रु एक करोड ५० लाखको लागतमा स्वास्थ्य चौकी र वडा कार्यालय भवन निर्माण भएको छ ।
तीन तले सभाहलसहित नौकोठे भूकम्पप्रतिरोधी क्षमताको भवन आइतबार गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले उद्घाटन गरे ।
गाउँपालिकाको रु एक करोड ३७ लाख सहयोगमा भवन निर्माण भएको अध्यक्ष भण्डारीले बताए । स्थानीयवासीले रु छ लाख चन्दा संकलन गरेर भवन परिसरमा सवारी पार्किङ र घेराबार गरेका छन् ।
भवन उद्घाटनका अवसरमा जग्गादाता र सहयोगीलाई सम्मान गरिएको थियो । भवन निर्माण भएको खुसीयालीमा बेगबासीले नाचगान गरेर खुसीयाली मनाएका थिए । आर्थिक वर्ष २०८०/८१ मा रु ५० लाख र २०८१/८२ मा रु ५५ लाख बजेट विनियोजन भएको वडा कार्यालय भवन योजना उपभोक्ता समितिमार्फत कार्यान्वयन गरिएको थियो ।
आर्थिक वर्ष २०८२/८३ मा विनियोजन भएको बजेटबाट रु २७ लाख ७१ हजारमा ठेक्कामार्फत तला थप गरेर सभा हल बनाएर भवनलाई पूर्णता दिइएको हो । भवनको भुँइ तलामा स्वास्थ्य चौकी र पहिलो तलामा वडा कार्यालयको सेवा सञ्चालन गरेको वडाध्यक्ष बिलप्रसाद फगामीले बताए ।
उनका अनुसार साबिक बेग गाविसको नाममा रहेका दुई रोपनी र स्थानीय हितमान फगामीले दान गरेको दुई आना तीन पैसा जग्गामा भवन निर्माण भएको हो । यसअघि बेग स्वास्थ्य चौकीको कच्ची भवनको साँघुरो कोठाबाट वडा कार्यालय सञ्चालनमा थियो ।
आफ्नै सुविधायुक्त भवनबाट सेवा प्रवाह गर्न सहज भएको वडाध्यक्ष फगामीले बताए । नयाँ भवनमा वडाध्यक्ष, सचिव, सदस्य, प्रशासन, बैठक कक्ष, भण्डारण कक्ष छन् । आठवटा वडा रहेको रघुगङ्गाको यसअघि वडा नं ५ झिँ, वडा नं २ भगवती, वडा नं ६ पाखापानीको कार्यालय भवन निर्माण भइसकेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुलराज पौडेलले बताए ।
वडा नं ३ पिप्ले, वडा नं ४ दग्नाम र वडा नं ८ कुइनेमङ्गलेको वडा कार्यालय पुराना भवनबाट सञ्चालनमा छन् । मौवाफाँटमा गाउँपालिकाको प्रशासनिक भवन निर्माणाधीन छ । चालु आवमा दग्नाममा ४ नं वडाको कार्यालय भवन निर्माण गरिने र पिप्लेको वडा कार्यालय भवनलाई तालिम केन्द्रमा स्थानान्तरण गर्ने तयारी भएको गाउँपालिका अध्यक्ष भण्डारीले बताए।
उनले जग्गा प्राप्ति प्रक्रियापछि गाउँ सभाको निर्णयअनुसार बेगमा पाँच शय्या क्षमताको अस्पताल निर्माण गरिने प्रतिबद्धता व्यक्त गरे ।



