दमौली(तनहुँ) । गत असोज ९ देखि ११ गतेसम्म परेको अविरल वर्षासँगै आएको बाढीपहिरोले तनहुँका विभिन्न सडक, पुल तथा कल्भर्टमा क्षति पुर्याएको छ । क्षति भएका संरचनाको पुनर्निर्माण तथा मर्मतसम्भारका लागि जिल्ला विपद् व्यवस्थापन समितिले सम्बन्धित निकायमा सिफारिस गरेको छ ।
जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारीका अनुसार बाढीपहिरोबाट क्षति पुगेका सडक तथा संरचनाको विवरण संकलन गरी आवश्यक पुनर्निर्माण र मर्मतका लागि सम्बन्धित कार्यालय तथा मन्त्रालयमा सिफारिस गरिएको छ ।
घिरिङ गाउँपालिकाका विभिन्न स्थानमा सडक भासिने, पुलको ब्याकफिलिङ बगाउने, सडकमा चिरा पर्ने, खोलाले बस्ती जोखिममा पार्ने तथा कल्भर्टको संरचनामा क्षति पुग्ने समस्या देखिएका छन् । क्षति भएका संरचनाको पुनर्निर्माण तथा मर्मतका लागि पूर्वाधार विकास कार्यालय तनहुँ र ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयमा सिफारिस गरिएको उनले बताए।
घिरिङ गाउँपालिका–१ स्थित द्रोपती खोलाको पुलको ब्याकफिलिङ बगाएको छ । पुलको दुवैतर्फको सडकसँग जोडिएको भागमा क्षति पुग्दा आवागमनमा समस्या हुन सक्ने भएकाले मर्मत तथा पुनर्निर्माण आवश्यक देखिएको छ । उक्त संरचनाको मर्मतका लागि पूर्वाधार विकास कार्यालय तनहुँ र ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयमा सिफारिस गरिएको छ ।
त्यस्तै, घिरिङ गाउँपालिका–३ स्थित भैरव मोटरमार्ग भासिएको छ । वर्षाका कारण सडकको भाग भासिएपछि सडकलाई सुरक्षित र नियमित रूपमा सञ्चालन गर्न मर्मतसम्भार आवश्यक देखिएको छ । उक्त सडकको पुनर्निर्माण तथा मर्मतका लागि पूर्वाधार विकास कार्यालय तनहुँमा सिफारिस गरिएको प्रमुख जिल्ला अधिकारी तिवारीले बताए।
घिरिङ गाउँपालिका–१ स्थित ठूलोफेदी खोलाले बस्तीमा क्षति पुर्याउन सक्ने जोखिम देखिएको छ । खोलाको कटानका कारण बस्ती संरक्षणका लागि रिटेनिङ वाल निर्माण गर्नुपर्ने उनले बताए। उनका अनुसार सम्भावित क्षति न्यूनीकरण गर्दै बस्तीको सुरक्षा सुनिश्चित गर्न आवश्यक संरचना निर्माणका लागि पूर्वाधार विकास कार्यालय तनहुँमा सिफारिस गरिएको छ ।
यसैगरी, घिरिङ गाउँपालिका–४ स्थित शालिग्राम करिडोरमा तिरन्दी खोलाको पुलको छेउमा क्षति पुगेको छ । पुलको साइडमा क्षति पुग्दा संरचनाको सुरक्षामा असर पर्न सक्ने भएकाले आवश्यक मर्मतका लागि सम्बन्धित निकायमा सिफारिस गरिएको छ ।
घिरिङ गाउँपालिका–३ स्थित गाबुडाँडा–नयाँटार सडकखण्डमा पनि चिरा परेको छ । सडकमा चिरा परेपछि थप क्षति हुन नदिन र सडकलाई सुरक्षित बनाउन मर्मत तथा आवश्यक प्राविधिक जाँच गर्नुपर्ने देखिएको छ । उक्त सडकखण्डको मर्मतका लागि पूर्वाधार विकास कार्यालय तनहुँमा सिफारिस गरिएको प्रमुख जिल्ला अधिकारी तिवारीले बताए ।
त्यसैगरी, घिरिङ गाउँपालिका–४ स्थित तिन्दीखोला कल्भर्टको तल्लो भागमा लगाइएको जाली बगाएको छ । खोलाको बहावले कल्भर्टको संरक्षण संरचनामा क्षति पुर्याएकाले आवश्यक मर्मत तथा पुनर्निर्माणका लागि पूर्वाधार विकास कार्यालय तनहुँमा सिफारिस गरिएको छ ।



