काठमाडौँ । इटहरी उपमहानगरपालिकामा कार्यरत महिला इन्जिनियरमाथि हातपात गरेको आरोपमा सोही उपमहानगरपालिकाका अर्का इन्जिनियर पक्राउ परेका छन्।
प्रहरीले उपमहानगरपालिकाको योजना शाखामा कार्यरत इन्जिनियर भवेन्द्र चौधरीलाई सोमबार इटहरीको पश्चिम लाइनबाट पक्राउ गरेको हो।
इलाका प्रहरी कार्यालय इटहरीका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) सुवास हमालका अनुसार चौधरीमाथि इटहरी उपमहानगरपालिका-९ मा कार्यरत इन्जिनियर एलिना अधिकारीलाई हातपात गरेको आरोप छ।
केही समयअघि भएको घटनापछि अधिकारीले आफूमाथि हातपात भएको भन्दै चौधरीविरुद्ध प्रहरीमा किटानी जाहेरी दिएकी थिइन्।
पीडितको जाहेरीका आधारमा सुनसरी जिल्ला अदालतले असोज ५ गते चौधरीविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो। पक्राउ पुर्जी जारी भएयता उनी फरार रहेको प्रहरीले जनाएको छ।
प्रहरीले खोजीका क्रममा सोमबार चौधरीलाई इटहरीको पश्चिम लाइनबाट नियन्त्रणमा लिएको हो। चौधरीमाथि लागेको आरोपका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।




