काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलका सचेतक प्रकाशचन्द्र परियारले समाचार प्रकाशनको विषयलाई लिएर पत्रकार पक्राउ गरिएको घटनाको विरोध गर्दै प्रहरीको कार्यशैलीप्रति गम्भीर प्रश्न उठाएका छन्।
शुक्रबार साँझ सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिक्रिया दिँदै परियारले सञ्चारमाध्यमको समाचार कक्षमै पुगेर पत्रकार पक्राउ गर्ने तथा नियन्त्रणमा लिने प्रयासको भर्त्सना गरेका हुन्।
‘पुलिस स्टेट बन्द गर,’ परियारले लेखेका छन्, ‘समाचारको विषयलाई लिएर समाचार कक्षमै पुगेर पत्रकार पक्राउ, धरपकड र नियन्त्रणको दुष्प्रयासप्रति घोर भर्त्सना गर्दछु।’
उनले संविधानले सुनिश्चित गरेको प्रेस स्वतन्त्रताको संरक्षण गर्नुपर्ने जिम्मेवारी बोकेको प्रहरी संगठनकै कार्यशैलीप्रति असन्तुष्टि जनाएका छन्।
‘संविधानमै सुनिश्चित गरिएको प्रेस स्वतन्त्रताको संरक्षण र संवर्द्धन गर्ने दायित्व रहेको राज्यको शक्तिशाली संगठन प्रहरीको शैली पुलिस स्टेट यानी प्रहरी राज उन्मुख देखियो,’ परियारले फेसबुकमा लेखेका छन्।
समाचारको विषयलाई लिएर पत्रकारमाथि गरिएको प्रहरी कारबाहीलाई परियारले प्रेस स्वतन्त्रतासँग जोडेर प्रश्न उठाएका हुन्।




