काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री विपिन आचार्यको नेतृत्वमा पार्टीको एक प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने भएको छ। चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणामा रास्वपाका नेताहरू चीन जान लागेका हुन्।
शनिबार बसेको पार्टी सचिवालय बैठकपछि प्रवक्ता जगदीश खरेलले महामन्त्री आचार्यको नेतृत्वमा केही नेताहरू सम्मिलित प्रतिनिधिमण्डलले निकट भविष्यमै चीन भ्रमण गर्ने जानकारी दिए।
‘महामन्त्री विपिन आचार्यको नेतृत्वमा केही सदस्यहरूसहितको प्रतिनिधिमण्डल छिट्टै चीन भ्रमण हुँदै छ,’ खरेलले भने।
उनले भ्रमणको निश्चित मिति र प्रतिनिधिमण्डलमा सहभागी हुने अन्य नेताहरूको नाम भने खुलाएनन्। भ्रमणका क्रममा हुने भेटवार्ता तथा छलफलका विषयबारे पनि विस्तृत जानकारी दिइएको छैन।
यसैबीच, सचिवालय बैठकमा मधेस प्रदेश तथा विभिन्न जिल्लामा हुन नसकेका पार्टी अधिवेशनका विषयमा समेत छलफल भएको छ।
प्रवक्ता खरेलका अनुसार सहमहामन्त्री हरि ढकालको नेतृत्वमा गठित कार्यदलले अधिवेशन हुन नसकेका स्थानहरूको अवस्थासम्बन्धी प्रतिवेदन बैठकमा पेस गरेको छ।
पार्टीले उक्त प्रतिवेदन अध्ययन गरी आवश्यक निर्णय लिने जनाएको छ।




