काठमाडौँ । बाराको फेटा गाउँपालिकामा अस्पताल उद्घाटनका क्रममा भएको झडप र गोली चलेको घटनाबारे मधेश प्रदेश प्रहरी कार्यालयले छानबिन समिति गठन गरेको छ ।
प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) प्रभुप्रसाद ढकालको नेतृत्वमा तीन सदस्यीय समिति गठन गरिएको हो । समितिमा प्रहरी उपरीक्षक भुवनेश्वरप्रसाद साह र प्रहरी निरीक्षक जटाशंकर यादव सदस्य छन् । समितिलाई घटनाको यथाशीघ्र छानबिन गरी सात दिनभित्र प्रतिवेदन बुझाउन निर्देशन दिइएको छ ।
शनिबार १५ शय्याको नवनिर्मित अस्पताल उद्घाटनका क्रममा भएको झडपमा प्रहरीले चलाएको गोली लागेर स्थानीय १७ वर्षीय आदित्य पासवान घाइते भएका थिए । प्रदर्शनकारीको ढुंगामुढाबाट पाँच प्रहरी घाइते भएका थिए भने १० मोटरसाइकल जलाउनुका साथै अस्पतालको शिलालेख तोडफोड गरिएको थियो ।
अस्पताल उद्घाटनको विषयलाई लिएर सुरु भएको विवादले हिंसात्मक रूप लिएपछि स्थिति तनावग्रस्त बनेको थियो । घटनापछि इलाका प्रहरी कार्यालय प्रसौनीका इन्चार्ज प्रहरी निरीक्षक (इन्स्पेक्टर) सुमन लामाको जिम्मेवारी समेत खोसिएको छ । लामाले घटनास्थलको सुरक्षा कमान्ड सम्हाल्दै आएका थिए । लामालाई त्यहाँबाट तानिएको मधेश प्रदेश प्रहरी स्रोतले जनाएको छ ।




