काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता र नेपालका लागि जापानी राजदूत माएदा तोरुबीच शिष्टाचार भेटवार्ता भएको छ।
मंगलबार मन्त्रालयमा भएको भेटमा नेपाल-जापानबीचको द्विपक्षीय सम्बन्ध, आपसी सहकार्य तथा स्वास्थ्य क्षेत्रमा जापानी सहयोग विस्तारका सम्भावनाबारे छलफल भएको हो।
भेटका क्रममा मन्त्री मेहताले भोटेकोशी बाढीबाट प्रभावित रसुवालगायतका जिल्लामा जापान सरकारले उपलब्ध गराएको राहत सामग्री, प्राविधिक उपकरण तथा प्रविधिसम्बन्धी सहयोगप्रति आभार व्यक्त गरिन्।
उनले वीर अस्पताल, परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल र कान्ति बाल अस्पताललगायतका स्वास्थ्य संस्थामा जापानले पुर्याउँदै आएको सहयोगको समेत प्रशंसा गरिन्।
राजदूत तोरुले नेपाल सरकारका प्राथमिकता र आवश्यकताका आधारमा स्वास्थ्य क्षेत्रमा थप सहयोग गर्न जापान तयार रहेको बताए। उनले नेपाल र जापानबीचको मैत्रीपूर्ण सम्बन्ध तथा विकास साझेदारीलाई थप सुदृढ बनाउने प्रतिबद्धतासमेत व्यक्त गरे।
भेटमा दुई देशबीच स्वास्थ्य क्षेत्रको विद्यमान सहकार्यलाई निरन्तरता दिँदै थप सहयोगका सम्भावनाबारे विचार आदानप्रदान भएको थियो।




