काठमाडौँ । सरकारले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) डा. मनोज केसीलाई नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) नियुक्त गर्ने निर्णय गरेको समाचार सार्वजनिक भएको छ।
बुधबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले केसीलाई प्रहरी संगठनको सर्वोच्च पदमा नियुक्त गर्ने निर्णय गरेको छ।
बैठकले हालका प्रहरी महानिरीक्षक दानबहादुर कार्कीलाई प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारको जिम्मेवारी दिने निर्णयसमेत गरेको बताइएको छ।
केसी हाल नेपाल प्रहरी प्रधान कार्यालयअन्तर्गत अपराध अनुसन्धान विभागको प्रमुखका रूपमा कार्यरत छन्। उनले २०२६ जुलाई ६ देखि उक्त विभागको नेतृत्व सम्हाल्दै आएको नेपाल प्रहरीको आधिकारिक विवरणमा उल्लेख छ।
कार्की २०८२ कात्तिक २४ गतेको मन्त्रिपरिषद् निर्णयबाट नेपाल प्रहरीको ३३औँ महानिरीक्षक नियुक्त भएका थिए। उनले सोही महिनाको २७ गतेदेखि प्रहरी संगठनको नेतृत्व सम्हालेका थिए।
केसी र कार्की एउटै ब्याचका प्रहरी अधिकारी हुन्। दुवैले सन् १९९८ मार्च ३१ मा प्रहरी निरीक्षकबाट सेवा प्रवेश गरेका थिए। कार्की महानिरीक्षक नियुक्त हुँदा केसीसमेत उक्त पदका प्रतिस्पर्धी थिए।




