काठमाडौँ । नेपाल बार एसोसिएसनका अध्यक्ष वरिष्ठ अधिवक्ता प्रा. डा. विजयप्रसाद मिश्रले न्यायाधीशलाई मेलमिलापकर्ताको जिम्मेवारी दिन नमिल्ने बताएका छन् ।
कानून, न्याय तथा मानव अधिकार समितिमा बिहीबार मेलमिलाप सम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८३ माथिको छलफलमा उनले जिल्ला न्यायाधीशलाई मेलमिलापकर्ता बनाउने प्रस्तावप्रति आपत्ति जनाएका हुन् ।
न्यायाधीशलाई मेलमिलापकर्ता बनाउने व्यवस्था संवैधानिक प्रावधान र न्यायिक स्वतन्त्रताको सिद्धान्तविपरित हुने उनले बताए ।
न्यायाधीशलाई न्यायिक कामबाहेक अन्य जिम्मेवारीमा लगाउन नमिल्ने उनले स्पष्ट पारे । न्यायाधीशलाई मेलमिलापकर्ताको भूमिकामा राख्ने प्रस्ताव नेपाल बारले अस्वीकार गर्ने उनको भनाई छ । न्यायाधीशको भूमिका विवादमा पक्ष बन्ने नभई कानून, प्रमाण र दुवै पक्षले पेश गरेका तथ्यका आधारमा निष्पक्ष निर्णय गर्ने रेफ्रीको रहेको उनले बताए । न्यायाधीशलाई न्यायिक कामबाहेक अन्य जिम्मेवारीमा खटाउने विषयमा विगतमा पनि संवैधानिक र कानुनी प्रश्न उठिसकेको उनले स्मरण गराए । मध्यस्थता (आर्बिट्रेसन) मा न्यायाधीशलाई संलग्न गराउने विषयमा सर्वोच्च अदालतसम्म विवाद पुगेको उल्लेख गर्दै उनले न्यायिक निष्पक्षतामा असर पर्ने भएकाले यस्तो अभ्यास उपयुक्त नहुने बताएका छन्।
उनले भने, ‘न्यायाधीशलाई मेलमिलापको काममा राख्ने भन्ने कुरालाई नेपाल बार एसोसिएसन अस्वीकार गर्दछ । यो संवैधानिक प्रावधान अनुकूल छैन । न्यायाधीशलाई न्यायिक काम बाहेक अरू काममा लगाउन मिल्दैन । यसको थुप्रै अथोरिटी पनि छ । न्यायाधीशलाई नेपालको संविधान बमोजिम मध्यस्थको काममा लाउन नमिल्ने भएको हुनाले यो मध्यस्थको सबै काम नेपाल बार एसोसिएसनले गरेको छ । न्यायाधीशको रोल भनेको रेफ्रीको मात्रै हो । ट्रुथ फाइन्डिङ गर्ने काम सरकारी वकिलको फौजदारी मुद्दामा हो । देवानी मुद्दामा पक्ष आफैले जसले मुद्दा लान्छ, त्योभन्दा बढी रोल संविधानले दिएको देखिएन । न्यायाधीश भनेको एकदमै सबैबाट आइसोलेटेड भएर तथ्य तथ्य विवेक, कानून, प्रमाण, मुद्दामा जुन पक्षले जे ल्याउँछ, त्यो अनुसार विवेक बोल्ने प्राणी हो । यो एक्टिभ न्यायाधीश प्लेयर होइन । यो रेफ्री हो । रेफ्रीलाई प्लेयर बनाउने काम गर्न हुँदैन । संविधानको फन्डामेन्टल प्रिन्सिपलहरूलाई भत्काएर, बिगारेर मैले चेन्ज गरेँ भन्ने हिसाबले अघि बढ्ने भन्ने कुरा ठिक छैन । यो न्यायिक काम होइन । न्यायिक काम नभएको कुरामा प्रधानन्यायाधीशले तोक्न पनि सक्नुहुन्न ।’
उनले मेलमिलापको दायरा भने विस्तार गर्नुपर्नेमा जोड दिनुभयो । विशेष गरी एकदेखि दुई वर्षसम्म कैद हुनसक्ने सामान्य प्रकृतिका फौजदारी मुद्दालाई पनि मेलमिलापको प्रक्रियामा ल्याउन सकिने उनले सुझाव दिए । यसबाट अदालत र सरकारमाथिको मुद्दाको चाप घट्ने तथा विवाद छिटो समाधान हुने उनले बताए । उनले मुद्दा अदालतमा प्रवेश गर्नुअघि नै मेलमिलापमार्फत विवाद समाधान गर्न सकिने व्यवस्थालाई थप विस्तार गर्नुपर्नेमा जोड दिए । उनले मेलमिलापसम्बन्धी प्रदेश समन्वय समितिमा प्रदेश राजधानीस्थित उच्च अदालत बार एशोसिएशनको सचिवलाई समावेश गर्नुपर्ने माग गरे ।
त्यसैगरी वाणिज्य क्षेत्र मेलमिलाप प्रवर्द्धन समितिमा पनि नेपाल बारको प्रतिनिधित्व सुनिश्चित गर्नुपर्नेमा जोड दिए । जिल्ला तथा प्रदेश मेलमिलाप समन्वय समितिका लागि छुट्टै कोषको व्यवस्था गर्नुपर्ने र मेलमिलापबाट टुंगिएका मुद्दामा प्राप्त हुने अदालती शुल्कको निश्चित हिस्सा कोषमा जम्मा गर्ने व्यवस्था गर्न पनि उनले आग्रह गरे । उनले मेलमिलापसम्बन्धी कामको जिम्मेवारी कुन निकायले लिने भन्ने विषय विधेयकमै स्पष्ट गर्नुपर्नेमा पनि जोड दिएका छन् ।





