काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गोश्वारा हुलाक कार्यालय, पार्सल शाखा डिल्लीबजारमा कार्यरत नायब सुब्बा छवि प्रसाद रिजालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
सेवाग्राहीबाट २० हजार रुपैयाँ घुस लिएको आरोपमा आयोगले बुधबार विशेष अदालत, काठमाडौँमा रिजालविरुद्ध आरोप पत्र दायर गरेको हो ।
कुरियर कम्पनीमार्फत विदेशमा सामान पठाउने क्रममा रिजालले सेवाग्राहीसँग घुस मागेको भन्ने सूचना तथा उजुरीका आधारमा आयोगबाट खटिएको टोलीले उनलाई घुस रकमसहित नियन्त्रणमा लिएको थियो ।
आयोगका अनुसार अनुसन्धानका क्रममा रिजालले आफ्नो पद तथा ओहदाको दुरुपयोग गरी आपसी मिलेमतो र योजनामा सेवाग्राहीको सामान विदेश पठाउन विभिन्न बहाना बनाई रकमको मोलमोलाइ गरेको तथा घुसबापत २० हजार रुपैयाँ लिएको पाइएको दाबी गरिएको छ ।
आयोगले रिजालको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुर भएको दाबी गर्दै २० हजार रुपैयाँ बिगो कायम गरेको छ ।






