काठमाडौँ । शहरी विकासमन्त्री रामकुमारी झाँक्रीलाई निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ ।
निर्वाचन आचार संहिता लागू भएपछि मन्त्री झाँक्रीले अमेरिका भ्रमण गरेको विषयमा स्पष्टीकरण सोधेको आयोग स्रोतले बताएको छ ।
‘आचारसंहिता लागू भएपछि सरकारी पदाधिकारीहरु आयोगको अनुमति नलिई विदेश भ्रमणमा जान पाइदैन । उहाँ निर्वाचन आयोगसँग अनुमति त परैको कुरा, कुनै जानकारी पनि नदिई भ्रमणमा जानुभएको देखियो,’ आयोग स्रोतले भन्यो ।
मन्त्री झाँक्रीको विषयमा उजुरी परेपछि आयोगले अध्ययन गरेको थियो । प्रारम्भिक अनुसन्धानमा उनी विदेश भ्रमणमा गएको पुष्टी भएपछि स्पष्टीकरण सोधेको आयोग स्रोतको भनाइ छ ।
मन्त्री झाँक्रीले आयोगले पठाएको स्पष्टीकरणको जवाफसमेत दिएको आयोग स्रोतले बतायो । तर जवाफ आयोगले खोलिसकेको छैन । जवाफ चित्तबुझ्दो नभए आयोगले उनलाई बोलाएर स्पष्टीकरण सोध्न सक्नेछ ।







