काठमाडौँ । हिजो आइतबार काठमाडौँबाट भारतको नयाँ दिल्ली जान ठिक्क परेको नेपाल एयरलाइन्सको वाइडबडी जहाजलाई रोकेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले सोमबार अर्को जहाजको उडान पनि रोकेको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले स्वीकृत गरेको उडान तालिका अनुसार नेपाल एयरलाइन्सको तालिका नै नभएको भन्दै विमानस्थलले बिहान ८ बजे नयाँ दिल्लीको लागि तय भएको उडान रद्द गरिदिएको हो । सोमबार बिहान काठमाडौँ–दिल्ली उडानको लागि निगमले १ सय ५० वटा टिकट विक्री गरेको थियो ।
निगमकी प्रवक्ता अर्चना खड्काले भनिन्, ‘हिजो जस्तै गरी आज पनि हाम्रो बिहानको उडान रोकिएको छ । हामीले हिजो नै यात्रुलाई जानकारी गराएकाले विमानस्थलमा पुगेर उहाँहरूले दुख पाउनुपरेको छैन ।’
हिजो आइतबार पनि बोर्डिङ पास भइसकेपछि निगमको जहाजलाई रोकिएको थियो । आइतबारका २ सय ५४ जना यात्रु दिल्ली जान पाएका छैनन् भने आज सोमबार बिहानका थप १ सय ५० यात्रुले पनि टिकट काटेर बसेकाले उनीहरूलाई कसरी पठाउने भन्ने विषय निकै जटिल भएको खड्काको भनाई छ ।
निगमको दिउँसोको उडान र अरू एयरलाइन्समा पनि केही यात्रु पठाउने तयारी भएको छ । तर यात्रु धेरै र जहाज कम हुँदा समस्या बढेको निगमले जनाएको छ ।
‘केही यात्रुलाई हामीले दिउँसोको हाम्रै उडानमा पठाउँदै छौँ, केही यात्रुलाई दिल्ली उडान गर्ने अरू एयरलाइन्समा पनि म्यानेज गर्ने कोसिस गर्छौँ । तर हामीसँग दिल्ली जान रोकिएका यात्रु नै ३ सय २५ जना भएकाले सबैलाई पठाउन समस्या छ ।’ प्रवक्ता खड्काले भनिन् ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई पनि बिजनेस दिन भन्दै निगमलाई हप्ताको कम्तिमा ४ वटा उडान भैरहवाबाट गर्ने गरी तालिका बनाएको छ । तर निगमले काठमाडौँबाटै नयाँ दिल्लीमा हप्ताका १४ वटै उडान गर्ने जिद्दी गरेका समस्या भएको छ ।







