काठमाडौँ । अर्थतन्त्रलाई गति दिन सरकारले छलफल सुरु गरेको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सिहंदरवारमा विभिन्न राजनीतिक दलका नेताहरू र निजी क्षेत्र लगायतसँग मंगलबार छलफल गरेका हुन्।
प्रधानमन्त्री दाहालले निजी क्षेत्र, अर्थविद, अर्थ क्षेत्रका सरोकारवालसँग सिहंदरवारस्थित प्रधानमन्त्री कार्यालय छलफल गरेको उनको सचिवालयले जानकारी दिएको छ। सरकारले अर्थतन्त्रको समस्यालाई छिटो, छरितो रुपमा समाधान गर्न केही दिनदेखि छलफल गरिरहेको छ। छलफलमा मन्त्रीहरू, पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसहित सत्ता गठबन्धन दलका नेताहरू पनि सहभागी छन्।
प्रतिपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदसमेत रहेका अर्थशास्त्री स्वर्णिम वाग्ले पनि छलफलमा सहभागी छन्। प्रधानमन्त्री दाहालले सोमबार अर्थमन्त्री प्रकाशशरण महत, गभर्नर महाप्रसाद अधिकारी लगायतसँग पनि छलफल गरेका थिए। प्रधानमन्त्रीले अर्थतन्त्रलाई अझ चलायमान गर्नका लागि सुझाव लिएका छन्।
देशको अर्थतन्त्रले लय समातिरहेको र बाह्य विप्रेषण, पर्यटक आगमन, शोधनान्तरको स्थितिमा राम्रो हुँदै गएको भए पनि केही समस्या रहेको उनको भनाइ छ।अर्थतन्त्र थप चलायमान बनाएर देशमा रोजगारीका अवसर सिर्जना गर्नेबारे प्रधानमन्त्रीले छलफल गरेको उनको सचिवालयले जनाएको छ।

