काठमाडौँ । १५ जना उपसचिवको सरुवा गरिएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्राविधिक तथा प्रशासनतर्फ विभिन्न निकायमा कार्यरत उपसचिवहरूको सरुवा गरेको हो ।
प्रशासन सिंहदरवार विशेष ब्युरोलाई प्राप्त विवरण अनुसार राष्ट्रिय सतर्कता केन्द्र, सहरी विकास मन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, गृह मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, खानेपानी मन्त्रालय, महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय, युवा परिषद् तथा विज्ञापन बोर्डलगायत निकायमा कार्यरत उपसचिवहरूको सरुवा गरेको हो ।
पछिल्लो समय संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सरुवा अनियमित मात्रै होइन अपारदर्शीसमेत हुन थालेको छ ।
मन्त्रालयमा आठ थरी सूची बन्ने र आ–आफ्ना सूची निर्णय गराउन होडबाजी चल्दा कर्मचारीहरू पेलान र मारमा पर्न थालेको मन्त्रालय उच्च स्रोत बताउँछ । ‘मन्त्रीकै सचिवालयका तीन थरी सूची बन्छन्, कर्मचारी प्रशासन शाखा र महाशाखाका आ–आफ्नै हुन्छन्, सचिवको हुने नै भयो’ ती स्रोतले भने, ‘तीन गुट ट्रेड युनियनबाट तयार हुँदा सरुवा भद्रगोल छ’
उसै पनि कमाऊ मन्त्रालयका रूपमा चित्रित हुँदै आएको सामान्य प्रशासन पछिल्लो समय सरुवा मन्त्रालयका रूपमा समेत कर्मचारी माझ बदनामित हुन लागेको छ । सम्बन्धित निकायलाई थाहै नदिई टपक्क सरुवा गरिदिँदा अन्य मन्त्रालयका कामकारवाहीमासमेत ठूलो असर परेको मन्त्रालयहरूको गुनासो रहँदै आएको छ र सम्बद्ध निकाय भने तै चुप मै चुपको अवस्थामा आफ्नो धन्दा निरन्तर चलाई रहेको छ ।
हेर्नुहोस् सूची