काठमाडौँ । चितवनको भरतपुरस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालकी लेखा अधिकृत अमृता कोइराला घुससहित पक्राउ परेकी छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौँडाको टोलीले उनलाई १ लाख ५० हजार रुपैयाँ नगद र ४ लाख ५० हजार रुपैयाँको चेकसहित पक्राउ गरेको कार्यालय प्रमुख उमाकान्त आचार्यले बताए ।
भरतपुर महानगरपालिका-४ कटहर चोकको एक होटेलबाट कोइरालालाई पक्राउ गरेको आचार्यले बताए ।
आचार्यका अनुसार औषधि आपूर्तिकर्तालाई रकम भुक्तानी दिएबापत कोइरालाले घुस मागेको र आइतबार आपूर्तिकर्ताबाट घुस रकम लिँदालिँदै उनलाई पक्राउ गरिएको हो । थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।