काठमाडौँ। कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीले आफूलाई कुटपिट गर्ने धम्की दिएको भन्दै एक मन्त्रालयका सचिवले सिडिओसँग शान्ति सुरक्षाको माग गरेका छन्।
सामाजिक विकास मन्त्रालयका सचिव लक्ष्मीप्रसाद भट्टराईले आफूलाई हिजो साँझ ४ बजेर ५३ मिनेटमा कार्कीले फोन गरेर कुटपिट गर्ने र शौचालयमा थुन्ने धम्की दिएको उल्लेख गर्दै निवेदन दिएका हुन् ।
उनले जिल्ला प्रशासन कार्यालय मोरङमा सुरक्षाको माग राख्दै निवेदन दिएका हुन् । मोरङका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराईले निवेदन दिएको पुष्टि गरे । सचिव भट्टराईलाई सुरक्षा दिने निर्णय गर्ने तयारीमा रहेको प्रजिअ भट्टराईले बताए ।
‘धम्की आएको रहेछ, मलाई बेलुका ७ बजेतिर पत्र आएको छ, हामी निर्णय गरेर उहाँ (सचिव भट्टराई) लाई सुरक्षा दिएर काम गर्ने माहोल बनाउँछौ, ‘उनले भने, ’थप अनुसन्धान प्रक्रिया अगाडी बढाउँदै छौ ।’
सचिव भट्टराईले प्रदेश प्रमुख सचिव केदारनाथ शर्मासमक्ष सुरक्षाको माग राख्दै निवेदन दिएका छन् । पूर्वमुख्यमन्त्रीले नै कुटपिट गर्ने धम्की दिएपछि आफू असुरक्षित भएकाले सुरक्षाको माग राख्दै निवेदन दिएको भट्टराईले बताएका छन् ।







