काठमाडौँ । काठमाडौँ उपत्यकामा अविरल वर्षापछि आएको बाढी र पहिरोले विनाशकारी स्थिति निम्त्याएको छ । बाढी र पहिरोका कारण ११ जनाले ज्यान गुमाएका छन् भने १२८८ जनालाई सकुशल उद्धार गरिएको छ। जिल्ला प्रशासन कार्यालय, काठमाडौँका अनुसार प्रहरी, सेना र सशस्त्र प्रहरी बलको संयुक्त प्रयासमा उद्धार कार्य तीव्र पारिएको छ ।
काठमाडौँका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यका अनुसार काठमाडौँबाट ३०६० प्रहरी, नेपाल आर्मीका करिब १००० र सशस्त्र प्रहरी बलका करिब १०००० सुरक्षाकर्मी उद्धार कार्यमा खटिएका छन्। उनीहरूले बानेश्वर शंखमुल दोभान क्षेत्रबाट ५ जना, बल्खु कालीमाटी क्षेत्रबाट ८३९ जना, कीर्तिपुर त्रिभुवन विश्वविद्यालय क्षेत्रबाट १५१ जना, थानकोट नागढुंगा र सुरुङ मार्ग क्षेत्रबाट १५२ जना, स्वयम्भू ङचाङ्गुनारायण क्षेत्रबाट ३ जना, काठमाडौँ महानगरपालिका वडा नम्बर १ बाल मन्दिर क्षेत्रबाट ११० जना र कोटेश्वर बालकुमारी तथा झोलुङ्गे पुल नजिकबाट २८ जनालाई सुरक्षित स्थानमा सारेका छन् । यससँगै एक जना अझै बेपत्ता रहेको जनाइएको छ ।
बाढी र पहिरोले ७४ वटा पशुचौपायको ज्यान गएको र १३४० वटा घरहरूमा ठूलो क्षति पुर्याएको छ। यस विपत्तिले ८ वटा प्रहरी युनिटमा पनि क्षति पुर्याएको छ । प्रभावित क्षेत्रहरूमा उद्धार कार्य निरन्तर जारी रहेको प्रजिअ आचार्यले प्रशासनलाई जानकारी दिएका छन् । जोखिमग्रस्त क्षेत्रमा रहेका सबैलाई सुरक्षित स्थानमा सर्न आग्रह गर्दै बाढी र पहिरो जस्ता विपद्को खतरामा परेमा नजिकको प्रहरी कार्यालय वा जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्रको सम्पर्क नम्बर ९८५१३३८३२२ वा ९८५१३६२९३७ मा तुरुन्तै खबर गर्न पनि प्रशासनले आग्रह गरेको छ।