काठमाडौँ । ६ जना उपसचिवहरूको सरुवा तथा पदस्थापन गरिएको छ । गृह मन्त्रालयले बुधवार अपराह्न मन्त्रालय तथा मातहतका जिल्लामा कार्यरत सहायक प्रमुख जिल्ला अधिकारीसहित उपसचिवहरूलाई सरुवा तथा पदस्थापन गरेको हो ।
प्रशासन सिंहदरवार विशेष ब्युरोलाई प्राप्त विवरण अनुशार गृह मन्त्रालयका उपसचिव तेज राज शर्माको इलाका प्रशासन कार्यालय सिमरा, बारा, खिमलाल भुसालको कारागार कार्यालय, पर्सा, देवी पाण्डे खत्रीको जिल्ला प्रशासन कार्यालय, नवलपरासी(बर्दघाट सुस्ता पश्चिम)को सहायक प्रमुख जिल्ला अधिकारीमा सरुवा भएको छ । यसैगरी गृहकै उपसचिव विजयराज सुवेदीलाई जिल्ला प्रशासन कार्यालयको धनुषाको सहायक प्रमुख जिल्ला अधिकारी बनाई पठाइएको छ ।
प्राप्त विवरण अनुशार जिल्ला प्रशासन कार्यालय उदयपुरका सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मी प्रसाद रेग्मीलाई इलाका प्रशासन कार्यालय धरान सुनसरी र जिल्ला प्रशासन कार्यालय ओखलढुङ्गाका सहायक प्रमुख जिल्ला अधिकारी वेदनिधी खनाललाई राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा सरुवा गरिएको विवरण ब्युरोलाई प्राप्त भएको छ ।
मन्त्रालयले केही दिनयता बरन्डा खाली अभियान शुरु गरेको छ । अधिकृतदेखि उपसचिवस्तरका कर्मचारीलाई महिनौँदेखि जिम्मेवारी नदिई राखिएको विषयमा चौतर्फी आलोचना भएसँगै मन्त्रालयले व्यवस्थापन शुरु गरेको हो । जसबारे प्रशासन डटकमले नियमित फलो अप गर्दै आएको छ ।
त्यसो त भए जति सबैलाई एकै पटक खाली गर्दा सहज हुने भएपछि अनेकतिरका इन्ट्रेष्टका कारण मन्त्री–सचिवलाई व्यवस्थापन गर्न कठिनाई भएको गृह विशेष स्रोत बताउँछ । ‘सचिवज्यू तत्काल व्यवस्थापन गरेर बरन्डा खाली बनाई हालौँ भन्नुहुन्छ र मन्त्रीज्यूले पनि ल अहिल्यै ल्याई हाल्नुस् सूची भन्नुहुन्छ तर राति १० बजेसम्म बसेर पनि सूची टुंगिदैन र भोली भनेर सबै घरतिर लाग्छन्’ ती स्रोतले प्रशासनसँगै भने ।