काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीपरिषद्को निर्णय कार्यान्वयन गर्न आनाकानी गरे विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङप्रति कडा कदम चलाउने संकेत गरेका छन्।
सोमबार साँझ विराटनगरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै ओलीले यस्तो संकेत गरेका हुन्।
उद्योगहरूमा लाइन जोड्न सरकारले दिएको निर्देशन कुलमानले आनाकानी गरेकोबारे प्रधानमन्त्रीलाई प्रश्न गरेका थिए।
विद्युत लाइन आज पनि जोडिएन नि भन्ने प्रश्नको जवाफमा दिँदै प्रधानमन्त्री ओलीले भने, ‘जोडिएन हैन ? ठिक छ त्यो हेर्दै जानुपर्छ। तर, देश बिगार्न र उद्योगधन्दा बन्द गर्न, देशलाई टाट पल्टाउन चाहिँ दिइँदैन।’
यसअघि सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले पनि सरकारको निर्णय कार्यान्वयन नगर्ने कुरा क्षम्य नहुने बताएका थिए।
प्रधानमन्त्रीले पनि ‘देश बिगार्न र टाट पल्टाउन नदिने’ बताएर सरकारी योजनाबारे संकेत गरेका हुन्।







