काठमाडौँ । अवैध लागुऔषध खैरो हेरोइनसहित तीन जनालाई प्रहरीले नागढुंगाबाट पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा भारत घर भएका ३७ वर्षीय गोविन्द बाला, काठमाडौँ चन्द्रागिरि नगरपालिका-११ का २६ वर्षीय रमन महर्जन र धादिङको थाक्रे गाउँपालिका-११ का ३८ वर्षीय विनोद तामाङ छन् ।
उनीहरूलाई प्रहरी प्रभाग नागढुंगा र लागुऔषध नियन्त्रण ब्युरोको संयुक्त टोलीले पक्राउ गरेको हो ।
काँकडभिट्टाबाट काठमाडौँतर्फ आउँदै गरेको प्र. १-०१-००६ ख ४७९६ नम्बरको यात्रुवाहकबाट आउँदै गरेका भारतीय नागरिक बालालाई १५० ग्राम खैरो हेरोइनसहित प्रहरीले पक्राउ गरेको थियो ।
बालाले उक्त लागुऔषध महर्जन र तामाङले ल्याउन लगाएको बताएका थिए । त्यसपछि उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो ।