काठमाडौँ । प्रहरी महानिरीक्षक दीपक थापाले स्वास्थ्य सेवाजस्तो महत्त्वपूर्ण सेवामा समर्पित अस्पतालका प्रहरी कर्मचारीले सामूहिक भावनाका काम गर्ने निर्देशन दिएका छन् ।
आज नेपाल प्रहरी अस्पताल महाराजगन्जको निरीक्षणपश्चात् आयोजित कार्यक्रममा उनले गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने सन्दर्भमा अस्पतालले उचित परामर्श, असल व्यवहारमा काम गर्न आग्रह गरे ।
प्रहरी महानिरीक्षक थापाले नेपाल प्रहरी अस्पताल स्कुल अफ हेल्थ साइन्सेज भवनमा रहेका शैक्षिक कार्यक्रम स्थानको अवलोकन गर्नुका साथै आकस्मिक कक्ष, विभिन्न विभाग, वार्ड, फार्मेसीलगायत विभिन्न युनिटको निरीक्षण तथा अवलोकन गरे ।
अस्पतालका मेडिकल डाइरेक्टर प्राविधिक प्रहरी अतिरिक्त महानिरीक्षक डा. सुन्दरप्रसाद ह्योजु, प्राविधिक प्रहरी उपरीक्षक डा. समृद्धि कार्कीले अस्पतालको पृष्ठभूमि, मानवश्रोत व्यवस्थापन, उपलब्ध सेवा तथा सेवाग्राहीको विवरण, उपकरण र नयाँ प्रविधिको प्रयोग, विभिन्न निकायसँगको समन्वय, कल्याण कोषसम्बन्धी जानकारी, कार्यान्वयनमा रहेका नीतिगत निर्णय, कर्मचारी लक्षित कार्यक्रम, समस्या तथा चुनौती र भावी कार्य योजनालगायत विषयमा प्रस्तुतीकरण गरेका थिए ।







