काठमाडौँ ।इजरायल र इरानबीच जारी तनावप्रति गम्भीर चिन्ता व्यक्त गर्दै माओवादीसहितका वाम घटक एवं बुद्धिजीवीहरूले संयुक्त रूपमा विरोध जारी गरेका छन्।
माओवादीसहितका ११ वाम घटकले संयुक्त विज्ञप्ति जारी गर्दै अमेरिका र इजरायली हमलाको निन्दा गर्दै इरानको पक्षमा उभिएको हो।
अहिले अमेरिकाको उक्साहटमा इजरायलले इरानमाथि पुनः आक्रमण गरी अन्तर्राष्ट्रिय कानुनको उल्लंघन गरेको भन्दै उनीहरूले कडा विरोध जनाए।
विज्ञप्तिमा भनिएको छ,’यतिखेर अमेरिकी साम्राज्यवादको उक्साहटमा इजरायलले फेरि इरानमाथि आक्रमण गरेको छ । त्यसबाट इरानको राष्ट्रिय स्वाधीनतामाथि हस्तक्षेप मात्र होइन अन्तर्राष्ट्रिय कानुनको समेत गम्भीर उल्लंघन गरेको छ । यस स्थितिमा गएको रातिमात्र अमेरिकी साम्राज्यवादले समेत आणविक हतियारको बहानामा इरानमाथि आक्रमण गरेको छ । यो गम्भीर युद्ध अपराध हो ।’
अमेरिकी आक्रमणबाट विश्वयुद्ध निम्त्याउने दुष्प्रयास गरेको भन्दै यसबाट विश्वव्यापी युद्धआतंकको त्रास फैलिएकोवाम बुद्धिजीवीको ठहर छ ।
‘साम्राज्यवादी विश्वयुद्ध र युद्धआतंकको विरोध गर्दै अविलम्ब युद्धविराम गरी विश्वशान्ति कायम गरिनु पर्दछ भन्ने पक्षमा छौँ र विश्वशान्तिका लागि संयुक्त राष्ट्रसंघको बडापत्र, पञ्चशीलको सिद्धान्त र अन्तर्राष्ट्रिय कानुनहरुको आधारमा शान्तिपूर्ण ढंगले समस्याहरुको समाधान खोजिनु पर्दछ भनी सम्बद्ध सबै पक्षहरूसँग जोडदार आव्हान गर्दछौँ ।’विज्ञप्तिमा भनिएको छ ।
अमेरिकी र इजरायली आक्रमणको विरोध गर्न, स्वाधीन राष्ट्रहरूको पक्षमा उभिन र इजरायल तथा इरानमा रहेका नेपालीहरूको सुरक्षाका लागि अविलम्ब पहल गर्न सरकारसँग जोडदार माग गरेका छन्।साथै युद्धको विरोध गर्दै शान्तिको पक्षमा ऐक्यबद्धता जाहेर गर्न आव्हान गरेका छन्।







