काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, अध्यागमन कार्यालयले नक्कली श्रम स्वीकृति बनाएर युएई उड्न लागेका दुई व्यक्तिलाई फिर्ता गरेको छ। अध्यागमनमा जाँचका क्रममा जया मुर्मु र रविन घतानीले बोकेको श्रम स्वीकृति नक्कली भएको पुष्टि भएपछि उनीहरूलाई फिर्ता गरिएको हो।
वैदेशिक रोजगारीका लागि युएई जान लागेका उनीहरूको श्रम स्वीकृतिमा शंका लागेपछि वैदेशिक रोजगार विभागको प्रणालीमार्फत जाँच गर्दा स्वीकृति नभेटिएकोले अध्यागमन कार्यालयले तत्काल फिर्ता गरेको हो। पछिल्लो समय कुनै कमजोरी नहोस् भनेर अध्यागमनले चेकजाँचमा कडाई गरेको छ ।
विमानस्थलबाट प्राप्त नक्कली श्रम स्वीकृति साइबर ब्युरो र मानव बेचबिखन ब्युरोलाई पठाइएको र खोजी तीव्र पारिएको वैदेशिक रोजगार विभागका महानिर्देशक कमल भट्टराईले बताए। “हाम्रो विभागबाट कागजी स्वीकृति दिइँदैन, सबै अनलाइन हुन्छ,” उनले भने। “नक्कली स्टिकर भएको शंका लाग्नासाथ सफ्टवेयरमा जाँच्दा तत्काल थाहा हुन्छ।”
विभागको फेमिस सफ्टवेयरमार्फत अध्यागमन कार्यालयले श्रम स्वीकृति तुरुन्तै जाँच गर्न सक्ने र नक्कली भएको पत्ता लगाउन सकिने उनले प्रष्ट पारे।
यस घटनाले नक्कली श्रम स्वीकृति बनाउने कार्य अझै भइरहेको खुलासा भएको छ। नक्कली स्वीकृति बनाउने गिरोहको नजिक पुगिएको र प्रहरीले अनुसन्धान तीव्र पारेको प्रशासन स्रोतले जनाएको छ।
नक्कली श्रम स्वीकृति बनाउने व्यक्तिलाई मानव बेचबिखनदेखि साइवर अपराधसम्म आकर्षित हुनेछ ।







