काठमाडौँ । कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिराम नागिलाले स्वयंसेवकहरू नै कागेश्वरी मनोहराको सुरक्षा ढाल बन्ने बताएका छन् ।
‘संकट बेला चुप लाग्ने समय अब छैन’ भन्ने दृढ संकल्पका साथ नगरपालिकाले सञ्चालन गरेको दुई दिने स्वयंसेवक ब्युरो गठन तथा परिचालन कार्यक्रममा बोल्दै नागिलाले यस्तो बताएका हुन् । ‘जहाँ विपद्, त्यही समाधान’ भन्ने मूल नारासहित सञ्चालन गरिएको उक्त कार्यक्रमले विपद् व्यवस्थापनमा स्थानीय जनशक्तिलाई अग्रपङ्क्तिमा उभ्याउने ऐतिहासिक पहलको रूपमा लिइएको छ ।
नागिलाले भने, ‘अब हामी अरूको पर्खाइमा बस्ने छैनौँ । यहाँका स्वयंसेवकहरू नै कागेश्वरी मनोहराको सुरक्षा ढाल बन्नेछन् र संकट बेला उहाँहरूको पनि सक्रिय सहभागिता रहने छ।’

कार्यक्रममा केवल तालिम मात्र दिइएको छैन, स्थानीय तहमा आत्मनिर्भर विपद् प्रतिकार्य संरचना निर्माणतर्फको पहिलो कदमसमेत चालिएको प्रमुख प्रशासकीय अधिकृत नागिलाले बताए । कार्यक्रममा सहभागीहरूको सुझावलाई आत्मसात् गर्दै नगरपालिकाले आगामी दिनमा यस्ता तालिमलाई नियमित र संस्थागत बनाउने तयारी अघि बढाएको उनले जानकारी दिए ।
यस्तै नगर विपद् तथा वातावरण समितिका संयोजक विजय श्रेष्ठ (धन) ले कार्यक्रमको उद्घाटन गर्दै स्वयंसेवक ब्युरोको सक्रियता आजका लागि मात्र नभई भोलिको सुरक्षित समाज निर्माणतर्फको दूरदर्शी तयारी भएको बताए । नेतृत्वदेखि कार्यक्षेत्रसम्मको समन्वयले यो कार्यक्रम केवल भाषणमा सीमित नभई कार्यान्वयनमै आधारित भएको प्रमाणित गरेको उनको भनाइ थियो । उनले भने, “विपद् व्यवस्थापन केवल सरकारको होइन, सम्पूर्ण समुदायको साझा जिम्मेवारी हो ।”
तालिमको समापन समारोहमा प्रमुख प्रशासकीय अधिकृत नागिलाले सहभागीहरूलाई प्रमाणपत्र वितरण गर्दै कार्यक्रमको औपचारिक समापन गरे । कार्यक्रमको सञ्चालन विपद् प्राविधिक मेघराज खत्री र शाखा प्रमुख हरिप्रसाद धितालले गरेका थिए । बाग्मती प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको आर्थिक सहयोगमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

नगरपालिकाका ९ वटै वडाबाट आएका कुल १०२ जना स्वयंसेवकहरू कार्यक्रममा सहभागी भएका थिए । कार्यक्रममा वडा नं. ३ का अध्यक्ष राममणि पुडासैनी, वडा नं. ६ का प्रकाश फुयाँल, कार्यपालिका सदस्य रुक्मति सापकोटा लगायत विभिन्न वडाका जनप्रतिनिधिहरूको सक्रिय सहभागिता थियो । महिला, युवा र विविध पृष्ठभूमिका व्यक्तिहरूको पनि उल्लेखनीय सहभागिता रहेको थियो ।
कार्यक्रमको मुख्य आकर्षण व्यावहारिक तालिम थियो, जसमा केवल सिद्धान्त पढाइमा सीमित नरही मैदानमै अभ्यास गराएर सिकाइएको थियो । कार्यक्रमकैबीच नगरपालिकाको परिसरमै फायर फाइटिङ पम्पको प्रयोग अभ्यास गरिएको थियो । आगलागी नियन्त्रणका लागि प्रयोग हुने उपकरणहरूको सहायताले आगो निभाउने व्यावहारिक विधिहरू सिकाइएको थियो । पोखरेल डाँडाको सम्भावित भूस्खलन क्षेत्रको अवलोकन गर्दै जोखिम पहिचान र सुरक्षित मार्ग निर्धारणसमेत गरिएको थियो ।

विशेष आकर्षणको रूपमा रहेको “मिसन बाढी उद्धार अभ्यास” व्यंजन पार्टी प्यालेसको स्वीमिङ पुलमा सम्पन्न भयो । उक्त अभ्यासमा पानीमा उद्धारका उपायहरू, जीवन रक्षक विधिहरू, लाइफ ज्याकेटको प्रयोग कसरी गर्ने भन्ने बारेमा सिकाइएको नगरपालिकाले जनाएको छ ।















