काठमाडौँ । मलेसियामा कार्यरत नेपाली राजदूत डा. नेत्रप्रसाद तिम्सेनाको गतिविधि विवादमा परेको छ । उनले गैर आवासीय नेपाली संघ (एनआरएनए) को विधान विपरीत आयोजित कार्यक्रममा सरकारी अतिथिको रूपमा सहभागिता जनाएपछि संघको वैधानिक संरचना र मर्यादामाथि प्रश्न उठेको हो ।
गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय समितिले आइतबार सार्वजनिक गरेको विज्ञप्तिमा राजदूत डा. तिम्सेनाले वैधानिक रूपमा निर्वाचित कार्यसमितिको अपहेलनासहित असान्दर्भिक टिप्पणी गरेको भन्दै आपत्ति प्रकट गरिएको छ । विज्ञप्तिमा भनिएको छ, “संविधानले तोकेको समय सीमाभन्दा बाहिरको कार्यक्रममा राजदूतको उपस्थितिले पदको मर्यादामाथि ठेस पुर्याएको छ । निर्वाचित पदाधिकारीलाई सम्मान नगरी लगाइएका आरोप र सर्वोच्च अदालतमा विचाराधीन विषयमा अनावश्यक अभिव्यक्ति गैर जिम्मेवार व्यवहार हो ।”
एनआरएनए-मलेसियाले गत साउन १२ (जुलाई २७) मा विधानअनुसार नवौँ महाधिवेशन सम्पन्न गरी नयाँ कार्यसमिति निर्वाचित गरेको दाबी गर्दै आएको छ । तर राजदूतले वैधानिक संरचनालाई बेवास्ता गरी समानान्तर गतिविधिमा सहभागी भएको संघको निष्कर्ष छ । यस कदमले एनआरएनएको एकता र विश्वसनीयतामाथि गम्भीर आघात पुर्याएको विज्ञप्तिमा उल्लेख छ ।
संघले राजदूतलाई आफ्नो मर्यादा, जिम्मेवारी र पदको गरिमालाई ख्याल नगरी विदेशी भूमिमा विभाजनकारी गतिविधिमा संलग्न भएको आरोप लगाएको छ । साथै, नेपाल सरकारको परराष्ट्र मन्त्रालय र प्रधानमन्त्री कार्यालयलाई तत्काल हस्तक्षेप गरी यस्ता गैर जिम्मेवार गतिविधि रोक्न आग्रह गरिएको छ ।
एनआरएनएले विदेशमा रहेका नेपालीबीच एकता कायम गर्नुपर्ने बेला उल्टै सरकारी प्रतिनिधिको संलग्नता विभाजनकारी प्रवृत्ति बढाउने कार्य भएको भन्दै गहिरो चिन्ता व्यक्त गरेको छ । संघका अध्यक्ष राकेश प्रसाद महतो र महासचिव विष्णु प्रसाद बरालले हस्ताक्षर गरेको विज्ञप्तिमा राजदूतको कार्यलाई गैर जिम्मेवार, निन्दनीय र पदको गरिमा विपरीत भन्दै कडा शब्दमा विरोध गरिएको छ ।








