काठमाडौँ । जेन जेड आन्दोलनका क्रममा यही भदौ २४ गते आन्दोलनरत समूहले तोडफोड गरी आगो लगाइदिँदा सूर्यविनायक नगरपालिका-२ बालकोटस्थित नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको निवास खण्डहरमा परिणत भएको छ ।
ओली निवासमा यतिखेर स्थानीय सलमपाखा युथ क्लबले ताल्चा लगाएर प्रवेश निषेधको बोर्ड टाँसेर राखेको छ ।
आन्दोलनरत भीडमध्ये केहीले ओली निवासमा रहेका महत्त्वपूर्ण सामान लुटेर लगेको र कवाडी संकलन गर्नेहरूसमेतले सामान लान थालेपछि सोही दिन राति ८:०० बजे फोडिएका फलामका बार वाइरिङ गरी क्लबले ताल्चा लगाएर राखेको छ ।
आगो लगाइएपछि कतिपय सामान, गाडी तथा मोटरसाइकल, बैठक हलसहितको एउटा र निवास गरी दुई ठूला भवन र सुरक्षाकर्मीको निवास रहेको साना दुई वटा भवन जलेर खण्डहर भएको छ । हजारौँ पुस्तक रहेको पुस्तकालय आधाभन्दा बढी जलेको छ ।
त्यसैगरी एमालेका पोलिटब्यूरो सदस्य महेश बस्नेतको गुण्डुस्थित घर पनि खण्डहरमा परिणत भएको छ । आन्दोलनकारीले लगाइदिएको आगोले तीनतले घर पूरै जलेर खण्डहरमा परिणत भएको छ ।
त्यसैगरी वडा नं ७ गुण्डुका वडाध्यक्ष रवीन्द्र सापकोटाको घर पनि आन्दोलनकारीले तोडफोड गरी आगो लगाइएको छ । नेता बस्नेतको घर आगजनी गर्ने टोलीले नै वडाध्यक्षको घर तोडफोड गरी आगजनी गरेको सापकोटाले बताए ।
आन्दोलनमा उत्रिएको सोही टोलीले गुण्डुस्थित वडा कार्यालयको भवनसमेत जलाएर खरानी बनाएका छन् । कार्यालयमा पार्किङ गरिराखेको राष्ट्रिय स्वतन्त्र पार्टीका सचेतक एवं सांसद सन्तोष परियार चढ्ने सरकारी गाडी र जिल्ला समन्वय समितिको गाडीलगायत अन्य सवारीसाधन पूर्ण रूपमा जलेको छ । गुण्डुकै प्रहरी चौकी र सँगै जोडिएको खानेपानी कार्यालय जलेर नष्ट छ ।
त्यसैगरी सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापाकी छोरी सुमित्रा थापाको सूर्यविनायक दार्जिलिङ हाइटमा रहेको घर पनि आन्दोलनकारीले तोडफोड गरी जलाएर पूर्ण क्षति पुर्याएका छन् । घरमै रहेकी सुमित्राले घरभित्र रहेको कुनै पनि सामानसमेत झिक्न नदिई तोडफोड गरी आगो लगाइदिँदा खण्डहर भएको थापाले बताए ।
त्यस्तै बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापामगरको सूनपा-८ सिपाडोलमा रहेको घर तोडफोड गरेका छन् । प्रहरी वृत्त जगातिबाट लुटेर लगेका दुई बन्दुकसहित पुगेका आन्दोलनकारीले घरमा आगो लगाउन खोज्दा स्थानीय महिला प्रतिकारमा उत्रिएपछि बन्दुक छाडेर आन्दोलनकारी भागेका सुजन थापाले जानकारी दिए ।
त्यसैगरी वडा नं ५ का वडाध्यक्ष राजकुमार जोशीको घर तोडफोड गरेका छन् भने एक मोटरसाइकल जलाएका छन् । आन्दोलनकारीले आगो लगाइदिँदा सूर्यविनायक नगरपालिका-४ दधिकोट गाम्चाको वडा कार्यालय भवन पूर्ण रूपमा क्षति भई खण्डहर बनेको छ ।
मध्यपुरथिमि शङ्खधरचोकस्थित मध्यपुरथिमिका पूर्व नगरप्रमुख मदन सुन्दर श्रेष्ठको घरमा पनि तोडफोड गरी क्षति पुर्याएका छन् । सूर्यविनायक नगरपालिकाको कार्यालय भवन तोडफोड गरिएको छ भने भवन आगो लगाउने प्रयास गरेपछि नगर प्रहरी र स्थानीयले प्रतिकारमा उत्रिएपछि आन्दोलनकारी भागेर गएको स्थानीयले बताएका छन् ।
नजिकै रहेको डिभिजन सडक कार्यालय तोडफोड गरी आगजनी गर्दा धेरै ठूलो क्षति भएको छ भने नजिकै रहेको कोष तथा लेखा नियन्त्रण कार्यालय तोडफोड गरिएको छ । आन्दोलनरत समूहले सरकारी कार्यालयतर्फ जिल्ला प्रशासन कार्यालयको मुद्दा शाखालगायत पछाडि भाग जलाएर पूर्ण रूपमा क्षति पुर्याएका छन् । मुद्दा शाखाको सम्पूर्ण दस्ताबेज र सामग्री जलेको छ भने सँगै रहेको जिल्ला समन्वय समिति, काठमाडौँ नगर विकास कार्यालय, नेपाल स्काउट कार्यालय, क्षयरोग कार्यालय जलाएका छन् ।
महानगरीय प्रहरी वृत्त मध्यपुरथिमिको भवन पूर्ण रूपमा जलाउँदा नष्ट भएको छ भने सँगै रहेको मध्यपुरथिमि नगरपालिकाको कार्यालय भवन जलाउँदा ठूलो क्षति पुगेको छ । मध्यपुरथिमि नगरपालिकाका पूर्वप्रमुख मदन सुन्दर श्रेष्ठको घर तोडफोड भएको भने मनोहरामा खोला किनारामा रहेको प्रहरी प्रभागमा आगो लगाइदिँदा खण्डहर बनेको छ ।
मध्यपुरथिमि राधेराधेस्थित स्थानीय विकास श्रेष्ठको घरमा भाडामा रहेको यातायात कार्यालय तोडफोड गरी जलाइएको छ । आन्दोलनकारीले गाडी र मोटरसाइकलमा पेट्रोल छर्केर आगो लगाएपछि कार्यालयको सटर फोडेर भित्र तीन तलासम्मका सबै सामान बाहिर निकालेर तोडफोड गरी आगो लगाउँदा सम्पूर्ण सामानदेखि कार्यालय भवन खण्डहरमा परिणत भएको छ ।
जिल्ला ट्राफिक प्रहरी परिसर कटुञ्जेको भवन पूर्ण रूपमा नष्ट भएको छ । यस भवनमा कारबाहीका लागि ल्याइएको १०० भन्दा बढी सवारीसाधन पूर्ण रूपमा जलाएको जानकारी दिँदै प्रमुख एवं ट्राफिक प्रहरी निरीक्षक प्रदीप खत्रीले करिब १० वटा मोटरसाइकल १६ बोरा चामल, खाद्यान्न, ट्राफिक प्रहरीको पोसाक, मोबाइललगायत सामग्री आन्दोलनमा आउनेहरूले लुटेर लगेको जानकारी दिए । कटुञ्जेकै सामुदायिक प्रहरी प्रभागमा आगो लगाइदिँदा खण्डहर भएको छ ।
जगातिस्थित प्रहरी बृत्तमा तोडफोड गरी हतियार लुटेर लगेका छन् भने चाँगुनारायण नगरपालिकाभित्रको खरिपाटी प्रहरी चौकी आन्दोलनकारीले आगो लगाउँदा जलेर नष्ट भएको छ भने चाँगुनारायणकै सुडाल प्रहरी चौकी पनि खण्डहर भएको छ ।
भक्तपुरका प्रमुख जिल्ला अधिकारी नमराज घिमिरेले प्रहरी कार्यालयलाई सञ्चालन गर्ने प्रयास भइरहेको र अन्य सरकारी कार्यालयहरूको क्षति भएको विवरण संकलन गरी मुचुल्का उठाएपछि मात्र सञ्चालन गर्ने गरी तयारी गरिएको जानकारी दिए । आइतबारदेखि नै खण्डहरमा परिणत कार्यालयलाई कुनै न कुनै बिन्दुबाट सेवा सञ्चालन गरेर जनताको काममा फर्किने गरी तयारी भइरहेको जानकारी दिए ।







