काठमाडौँ। मधेशका मुख्यमन्त्री सतिशकुमार सिंह फेसबुके राजीनामा दिएर अन्योल परेपछि जनमतले मधेश प्रदेश सभाका सभामुखलाई पत्र पठाएको छ ।
मधेश सरकारलाई दिइएको समर्थन फिर्ता सहित मुख्यमन्त्री/मन्त्रीलाई फिर्ता बोलाइएको ब्यहोराको पत्र जनमत संसदीय दलका नेता महेश प्रसाद यादवले मंगलबार सभामुख रामचन्द्र मण्डललाई दिएका हुन् ।
मुख्यमन्त्री सिंहले औपचारिक राजीनामा दिन नमानेपछि दलका नेता यादवले यसअघि भदौ २८ गते यस्तै ब्यहोराको पत्र प्रदेश प्रमुख कार्यालयलाई पठाएका थिए । सभामुखलाई दिएको पत्रमा उनले सोही अनुसारको व्यवस्था गर्न पनि अनुरोध गरेका छन्।
‘उपरोक्त सम्बन्धमा हाम्रो दल जनमत पार्टी मधेश सरकारलाई दिइएको समर्थन फिर्ता सहित मुख्यमन्त्री/मन्त्री लाई फिर्ता बोलाइएको जानकारी मधेश प्रदेश प्रमुखको कार्यालयलाई मिति २०८२र०५र२८ गते नै गराइसकेको सो को जानकारी सहित सदनमा हाम्रो दलको सोही अनुसार व्यवस्थापन को लागि अनुरोध गर्दछौँ’ सभामुखलाई दिएको पत्रमा उल्लेख छ ।
सभामुख मण्डलले जनमत दलको नेताबाट पत्र आज प्राप्त भएर प्रदेशसभामा दर्ता भएको बताए । यो पत्रको आधारमा अबको तीस दिन भित्र मुख्यमन्त्री सिंहले सदनबाट विश्वासको मत लिनुपर्ने सभामुख मण्डलको भनाइ छ ।
‘यो पत्र दर्ता भएको छ । अब ३० दिन भित्र मुख्यमन्त्रीले सदनबाट विश्वासको मत लिनुपर्छ । भोलि नै मुख्यमन्त्री सिंहलाई प्रदेशसभाले पत्र पठाउँछ’ सभामुख मण्डलले भने ।
जेन जेडको आन्दोलन चर्केको दिन भदौ २४ गते जनमत अध्यक्ष डा। सिके राउतको निर्देशनमा मुख्यमन्त्री सिंहले पदबाट राजीनामा दिएका थिए। तर पछि अवस्था सहज भएपछि उनले औपचारिक राजीनामा पत्र प्रदेश प्रमुखलाई बुझाउनुको साटो राजीनामा नदिने बोली फेरे । चर्को आलोचना हुन थालेपछि जनमत संसदीय दलको नेता यादवले प्रदेश प्रमुखलाई समर्थन र मुख्यमन्त्री/मन्त्री फिर्ताको पत्र प्रदेश प्रमुखलाई पठाएका थिए ।
मुख्यमन्त्री सिंहको फेसबुके राजीनामाले मधेश सरकारमा अन्योल बनेको छ । नयाँ सरकार गठन गर्न पनि अन्योल छ । जनमत संसदीय दलका नेता यादवले पदबाट चाँडो राजीनामा नदिए पार्टीले कारबाही गर्ने चेतावनी समेत मुख्यमन्त्री सिंहलाई दिइसकिएको बताएका छन् ।
तर कतिपयले जनमत अध्यक्ष डा। सिके राउतको डिजाइनमा राजीनामाको नाटक मञ्चन गरेर आफ्नो सरकार टिकाइ राख्ने खेलमा लागेको टिप्पणी गर्न थालेका छन् । यस प्रकरणको कारण मुख्यमन्त्री र जनमतको चर्को आलोचना समेत भइरहेको छ । ।







