बागमती । गत भदौ २३ र २४ को जेन जेड प्रदर्शनको मौका छोपी विभिन्न कारागारबाट फरार भएका कैदी बन्दीहरू धमाधम कारागार फर्किन थालेका छन् ।
कारागारबाट भागेकामध्ये धेरैजसोलाई सुरक्षाकर्मीले पक्राउ गरी कारागार फर्काएका छन् भने कतिपय आफै कारागार फर्केका छन् । मकवानपुरको भीमफेदी गाउँपालिकास्थित क्षेत्रीय कारागार भीमफेदीलगायत विभिन्न कारागारबाट फरार भएकामध्ये आज बिहानसम्म २२३ कैदी बन्दी कारागार फर्किएका छन् ।
भीमफेदी कारागारबाट भागेकामध्ये सुरक्षाकर्मीले १३० जना कैदी बन्दीलाई नियन्त्रण लिई कारागारमा पठाएको कारागारका प्रमुख सुवास पौडेलले जानकारी दिए । उनका अनुसार भागेकामध्ये ३६ जना कैदी बन्दी आफैँ कारागारको सम्पर्कमा आएका छन् ।
यही भदौ २४ गते राति १ बजेतिर भीमफेदी कारागारको पर्खाल भत्काएर ४४० कैदी बन्दी फरार भएका थिए । फरार कैदी बन्दीको खोजी गर्ने क्रममा भीमफेदी कारागारबाट फरार १३० जना र अन्य कारागारबाट फरार ६० जना गरी १९० जना कैदी बन्दीलाई प्रहरीले नियन्त्रणमा लिई कारागार पठाएको कारागारका प्रमुख पौडेलले बताए ।
कारागारको तीन गेट फुटाई पश्चिमतर्फको पर्खाल भत्काएर (क) ब्लकबाट २६० र (क) ब्लकबाट १८० गरी ४४१ कैदी बन्दी फरार भएका थिए । फरार कैदी बन्दीको खोजीको क्रममा सुरक्षाकर्मीहरूले विभिन्न स्थानबाट कैदी बन्दीहरूलाई नियन्त्रणमा लिई कारागारमा बुझाएको प्रमुख पौडेलले बताए ।
फरार रहेका २७७ कैदी बन्दीको खोजी कार्य तीव्र पारिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले बताए ।







