काठमाडौँ । नेकपा माओवादी केन्द्रकी उपाध्यक्ष पम्फा भुसालले देशकै जिम्मा माओवादीको काँधमा आउँदै गरेको बताएकी छन् ।
काठमाडौँको प्रज्ञा भवनमा जारी केन्द्रीय समितिको बैठकमा बोल्दै उनले यस्तो बताएकी हुन् । मुलुकको नेतृत्व लिँदै गर्दा पार्टीभित्र प्रष्ट र बलियो वैचारिक धार हुनुपर्ने उनको आग्रह छ ।
अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को भूमिकाले मुलुकमा ठुलो क्रान्ति र परिवर्तन भएको उल्लेख गर्दै उनले ‘प्रचण्ड’कै भूमिका कारण संविधानसभाबाट संविधान जारी हुन सकेको बताइन् । पार्टीले उठाउँदै आएका एजेण्डा जेन जेड आन्दोलनपछि फेरि अगाडि आएकाले त्यसलाई अगाडि बढाउन पार्टीले भूमिका खेल्ने उनको दृढता छ ।
उनले भनेकी छन्, ‘देशकै जिम्मा अब हामीमा आउँदै छ ।’ उपाध्यक्ष भुसालले अध्यक्ष प्रचण्डको प्रस्तावमा समर्थन जनाइन् ।
भुसालसँगै नेताहरू वर्षमन पुन, हरिबोल गजुरेल, अग्नि सापकोटा, मातृका यादव, राम कार्की लगायतले बोलेका छन् ।
उपत्यका विशेष प्रदेश, लुम्बिनी प्रदेशको निष्कर्ष पनि प्रस्तुत भइसकेको छ । नेता रहिश साहका अनुसार लुम्बिनी प्रदेशबाट अध्यक्ष प्रचण्डको प्रतिवेदनलाई पुर्ण समर्थन गरिएको छ । महाधिवेशन मंसिरमै गर्नुपर्छ भन्ने मतमा सबै सहमत छन् । मसिंरमा कहिले गर्ने गते तोकेर जानुपर्ने सुझाव प्रस्तुत भएको छ ।
महासमिति बनाएर संयोजक प्रचण्डलाई नै तोकेर महाधिवेशनमा जानुपर्ने सुझाव प्रस्तुत भएको छ ।
उपत्यका विशेष प्रदेशले पनि प्रचण्डकै नेतृत्वमा महाधिवेशनमा जाने निष्कर्ष सुनाएको छ । ‘आत्मालोचना गर्ने, नातागोतावाद तोड्ने प्रतिबद्धता भने सबैले गर्नुपर्ने’ सुझाव प्रस्तुत भएको छ ।







