काठमाडौँ । कोशी प्रदेश सरकारले इलामका पहिरो प्रभावितका लागि राहत सामग्री पुर्याएको छ । आज बिहान नेपाली सेनाको हेलिकप्टरमार्फत राहत सामग्री पुर्याइएको हो ।
आन्तरिक मामिला तथा कानुन मन्त्रालयले स्थलमार्गबाट राहत पठाउन सकिने अवस्था नभएपछि हेलिकप्टरको प्रयोग गरेको हो । मुख्यमन्त्री हिकमतकुमार कार्की आफैँ फिल्डमा खटिएका छन् ।
आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव रामप्रसाद आचार्यका अनुसार दैनिक उपभोग्य खाद्य सामग्री चामल, दाल, आलु, नुनतेल, बेसार तथा ब्ल्यांकेट, सिरानी, म्याट्रेस, त्रिपाल पठाइएको छ ।
मुख्यमन्त्री कार्कीले स्थानीय पालिकासँगको सहकार्यमा माङसेबुङ र इलाम नगरपालिका क्षेत्रका प्रभावितलाई राहत सामाग्री वितरण गरेका छन् ।
आन्तरिक मामिला तथा कानून मन्त्री रेवतीरमण भण्डारीले दुवै पालिकामा गरेर २ सय जनालाई पुग्ने गरी राहत सामाग्री लिएर कार्की इलाम पुगेको बताए । आजै माई नगरपालिका क्षेत्रका प्रभावितलाई पनि राहत सामग्री वितरणको तयारी छ ।








