काठमाडौँ । प्रतीक्षित सांगीतिक रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’को सातौँ सिजनलाई बिहीबार ग्राण्ड प्रिमियर गरिएको छ ।
आइएनआई सिनेमाजको जमलस्थित विश्वज्योती हलमा आयोजित प्रिमियर समारोहमा सेलिब्रेटी, संचारकर्मी र प्रायोजकको सहभागिता रह्यो । उक्त अवसरमा सिजनको पहिलो एपिसोड प्रदर्शन गरिएको थियो । प्रिमियरमा सहभागीले पहिलो एपिसोडको मुक्तकण्ठले प्रशंसा गरेका छन् ।
निर्देशक लक्ष्मण पौड्यालले सातौँ सिजनमा नयाँ प्रतिभा र स्वरको उत्साहजनक सहभागिता रहेको बताए । चारैजना कोच यसअघि विजेता भइसकेकाले यो सिजन निकै प्रतिस्पर्धात्मक हुने उनले बताए ।
कोच प्रमोद खरेल र राजु लामाले पनि नयाँ सिजनमा कडा प्रतिस्पर्धा हुने बताए । यी दुबैजना कोच नयाँ सिजनमा फर्किएका हुन् ।
कोच राजुले पनि नयाँ प्रतिभाको उत्साहजनक सहभागिता यसमा भएको बताए । हिमालय टिभीका कार्यकारी निर्देशक श्याम कँडेलले टिभीले युवा लक्षित सामग्री केन्द्रित कार्यक्रम ल्याउने बताए ।
यसपटक राजु र प्रमोदसहित मेलिना राई र खेम सेन्चुरी कोचको रूपमा सहभागी छन् ।







