काठमाडौँ। नेपाली काँग्रेसको संस्थापन पक्षका २५ केन्द्रीय सदस्यले चुनावअघि नै महाधिवेशनको माग गर्दै कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई ध्यानाकर्षण पत्र बुझाएका छन् ।
जारी केन्द्रीय समिति बैठकमा महाधिवेशनको मितिबारे चर्को विवाद भइरहेको बेलामा संस्थापन पक्षका नेताहरू पनि चुनावअघि नै महाधिवेशनको पक्षमा खुलेका हुन् ।
उनीहरूले पार्टी कार्यालय सानेपामा पुगेर ६ बुँदे मागपत्र बुझाएका हुन् ।
उनीहरूले १५औँ महाधिवेशन सम्पन्न गर्न पहिलो खुड्किलो क्रियाशील सदस्यता नवीकरण र नयाँ क्रियाशील सदस्यता वितरण कार्य सम्पन्न हुनुपर्ने भएकोले समयसीमा निर्धारण गरेर क्रियाशील सदस्यता टुङ्ग्याउनु पर्ने माग गरेका छन्।
फागुन २१ गतेको निर्वाचनलाई परिणाममुखी बनाउन पार्टीको विधान बमोजिम २०८२ साल मंसिर महिनाभित्र १५ औँ महाधिवेशन प्रारम्भ गरी तहगत रूपमा अधिवेशन सम्पन्न गर्नका लागि कार्यतालिका बनाई लागू गर्नुपर्ने माग राखेका छन् ।
वर्तमान अवस्थालाई मध्यनजर गरी युवा पुस्ताहरूको समेत उल्लेखनीय प्रतिनिधित्वको सुनिश्चितता हुने गरी विधानमा संशोधन गर्नुपर्ने, हालसम्म पनि पार्टीको आन्तरिक निर्वाचन समितिले पूर्णता नपाएको हुँदा अभिलम्ब निर्वाचन समिति बिस्तार गरी पूर्णता दिनु पर्ने पनि माग गरेका छन् ।
यस्तै, आगामी १५औँ महाधिवेशनमा सबै तहको पार्टीको संरचनामा युवा, महिला, दलित, आदिवासी जनजाति, थारु, मधेशी, मुस्लिम, पिछडा क्षेत्र र वर्ग एवम् अपाङ्गता भएकाहरूको अर्थपूर्ण सहभागिताको सुनिश्चितता गर्नुपर्ने माग राखेका छन् ।







