काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाल प्रहरीका नयाँ आइजिपी दान बहादुर कार्कीलाई तर्साउन निवर्तमान आइजिपी चन्द्र कुबेर खापुङ्गलाई स्थान हद तोकिए दाबी गरेका छन् ।
उनले नयाँ आइजिपीलाई तर्साएर जेन जेड आन्दोलनका नाममा मच्चाइएको विध्वंसमा संलग्नलाई जोगाउन पुराना आईजीलाई काठमाडौँ बाहिर र विदेश पनि जान नदिने गरी स्थान हद तोकिएको बताएका हुन्।
भक्तपुरको गुण्डुस्थित निजी निवासमा प्रेस चौतारीका नेता कार्यकर्तासँग आइतबार कुरा गर्दै ओलीले नवनियुक्त आइजिपीलाई तर्साउन अवकाशमा जाने बित्तिकै पूर्वआईजीपीको राहदानी रोक्का र स्थान हदको हल्ला गरिएको जिकिर गरेका छन् ।
‘हिजोसम्म शान्ति सुरक्षा कायम गराउन प्रहरी प्रमुखको जिम्मेवारी लिएको छ। आज कतै पनि जान नपाउनु योभन्दा ठूलो मजाक र तमासा के हुन्छ ?’, उनले भने, ‘सरकार कस्तो बाटो हिँड्न खोजिरहेको छ ? कहाँ जान खोजिरहेको छ ? ‘रुल अफ ल’ कार्यान्वयन हुन नदिने, कानूनबमोजिम काम नगरी निर्दोषलाई थुन्नुपर्छ भन्ने ? दोषीलाई छाड्नुपर्छ भन्ने ? लाइनमा छ ।’
ओलीले फरक प्रसंगमा एमाले देशको सबैभन्दा ठूलो र बलियो पार्टी रहेको बताए । उनले निर्वाचनबाट भाग्दैनौँ, डराउँदैनौँ भनेर लुते कुरा गरिरहनु जरुरी नभएको पनि उल्लेख गरेका छन् ।
अहिलेको अवस्थामा चुनाव हुनै नसक्ने ओलीको तर्क छ । प्रहरीबाट लुटिएका हातहतियार बाहिरै रहेको र कारागारबाट फारर भएका अपराधीलाईसमेत सरकारले नियन्त्रणमा लिन नसकेको अवस्थामा चुनाव गर्न नसकिने उनले बताएका छन् ।
‘देशको सबभन्दा ठूलो र सबभन्दा बलियो पार्टी चुनावबाट भाग्दैनौँ, डराउँदैनौँ भनेर लुते कुरा गरिरहनु पर्छ र ? चुनाव हुने अवस्था भए हामी जान तयार छौँ,’ उनले भने ।







