काठमाडौँ । मधेश प्रदेशमा पछिल्ला ३५ दिनयता देखिएको राजनीतिक अस्थिरता, सरकार गठनमा भएको तनाव र संवैधानिक प्रक्रियाको उल्लङ्घनविरुद्ध जेन जेड युवाहरूले कडा आपत्ति जनाएका छन्। भदौ २३ र २४ गते भ्रष्टाचार र बेथितिविरुद्ध भएको जेनजी पुस्ताको जनआन्दोलनपछि देशभर राजनीतिक चेतना जागृत भएको बताइँदै आए पनि मधेश प्रदेश सरकारले भने सो आन्दोलनको मर्मविपरीत गतिविधि दोहोर्याइरहेको जेन जेड मधेश प्रदेश संयोजक शिव यादवद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
सतिश सिंहको राजीनामा विवादबाट सुरु संकट
भदौ २४ गते जनमत पार्टीका मुख्यमन्त्री सतिश सिंहले सामाजिक सञ्जालमार्फत राजीनामा दिएको घोषणा गरे पनि पछि आफू पदमै रहेको दाबी गर्दा दलभित्र तनाव चुलियो। लिखित राजीनामा नदिएपछि जनमत पार्टीले उनलाई फिर्ता बोलायो। त्यसपछि काँग्रेस–एमाले–जनमत गठबन्धनले सिंहलाई हटाउने निर्णय गरे र उनले विश्वासको मत नलिई पद छोड़े।
गठबन्धन परिवर्तनसँगै जनमतले लोसपाका जितेन्द्र सोनललाई समर्थन दियो र उनी मुख्यमन्त्री नियुक्त भए। तर विश्वासको मत लिने दिन माओवादी केन्द्र र जनस्वराज सांसदहरूले अवरोध गरेपछि सोनलले राजीनामा दिनुपर्यो, जसले प्रदेशमा फेरि राजनीतिक अनिश्चितता गहिरियो।
होटलमा शपथ ग्रहण, प्रदेशभर तनाव
कात्तिक २४ गते बिहान प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले स्वास्थ्य कारण देखाउँदै प्रक्रिया स्थगित भएको संकेत गरेकी थिइन्। तर सोही बिहान महोत्तरी–सिन्धुली सिमानास्थित पानस कटेजमा एमाले सांसद सरोज यादवलाई मुख्यमन्त्रीको शपथ गराइएको घटनाले प्रदेश राजनीतिमा ठूलो तरंग ल्यायो।
यसलाई विपक्षी सात दलले ‘असंवैधानिक’ भन्दै मधेशभर विरोध प्रदर्शन थाले। प्रदेश सभामा तोडफोड, कर्मचारीमाथि कुटपिट र सभामुख रामचन्द्र मण्डलविरुद्ध महाअभियोग दर्ता प्रक्रियामा समेत बाधा पुग्दा मधेश निरन्तर तनावग्रस्त रह्यो।
असंवैधानिक नियुक्ति भएको जेन जेडको आरोप
जेन जेड युवाहरूद्वारा जारी विज्ञप्तिमा प्रदेश प्रमुखले संविधानको धारा १६८ ९३० को प्रयोग गर्दै वैकल्पिक बहुमतको सम्भावना रहँदासम्म अनिवार्यरूपमा अघि बढ्नुपर्ने धारा १६८ ९२० र सर्वोच्च अदालतका नजिरहरू बेवास्ता गरेको आरोप लगाइएको छ।
विज्ञप्तिमा मुद्दा नं. ०७७–डब्ल्यूसी–००२८, ०७०–डब्ल्यूसी–००७१, र ०८०–डब्ल्यूएफ–००१२ समेत उद्धृत गर्दै “होटलमा शपथ गरिनु संवैधानिक मर्यादा, प्रक्रियागत शुद्धता र लोकतान्त्रिक उत्तरदायित्वमाथिको सीधा प्रहार’’ भएको उल्लेख छ।
जेन श् का अनुसार विश्वासको मतको औपचारिक प्रक्रिया नटुंगिँदै अर्को व्यक्तिलाई मुख्यमन्त्री नियुक्त गर्नु र शपथ ग्रहण गराउनु प्रदेशको राजनीतिक संस्कार र राज्य संयन्त्रप्रतिको भरोसमै प्रहार हो।
संघीयता असफल होइन, अभ्यासमा समस्या –जेन जेड
विज्ञप्तामा पछिल्ला घटनालाई बहाना बनाउँदै संघीयता असफल देखाउने प्रयास भइरहेको उल्लेख गरिएको छ। जेन श् ले “प्रणाली कहिल्यै खराब हुँदैन, खराब हुन्छ त व्यक्तिको नियत, चरित्र र सत्तालिप्सा’’ भन्दै नेतृत्वकै कमजोरीले समस्या सिर्जना भएको बताएको छ।
संघीयता सहिदहरूको बलिदानबाट प्राप्त ऐतिहासिक उपलब्धि भएकाले यसमाथिको प्रत्येक प्रहार जनताको अधिकार र पहिचानविरुद्ध रहेको जेन जेडको भनाइ छ।
कडा आन्दोलनको चेतावनी
जेन जेड युवाहरूले मधेश प्रदेशमा भइरहेको “असोभनीय, लज्जास्पद र संवैधानिक मूल्यविपरीत’’ गतिविधि रोकिएन भने निर्णायक र संगठित आन्दोलनमा उत्रिने चेतावनी दिएका छन्।
उनीहरूले शान्ति, सुशासन, पारदर्शिता र विधिसम्मत सरकार गठन गरी प्रदेशलाई स्थिरतामा फर्काउन प्रदेश सरकार र सरोकारवालालाई आग्रह गरेका छन्।
विज्ञप्तिको अन्त्यमा भनिएको छ-“हामी लोकतन्त्र र संघीयताको पक्षमा दृढ छौँ। जनताको विश्वासमाथि कुनै हालतमा आँच आउन नदिने प्रतिबद्धताका साथ जेन जेड युवाहरू अघि बढ्नेछन्।”







