काठमाडौँ । भदौ २३ र २४ मा भएको जेन जेड प्रदर्शनका क्रममा निर्वाचन आयोगलाई क्षति हुन नदिन नदिएको भन्दै निर्वाचन आयोगले सम्मान गरेको छ।
बुधबार आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले सशस्त्र प्रहरी बल, नेपाल नं. २४ बाघभैरव गुल्म र त्यसका तत्कालीन गुल्मपति सशस्त्र प्रहरी नायब उपरीक्षक सुरेश कोइरालालाई सम्मानपत्र प्रदान गर्दै सम्मान गरेका हुन्।
भदौ २४ गते कान्तिपथस्थित निर्वाचन आयोगमा तोडफोड र आगजनीको प्रयास भएको बेला डीएसपी कोइरालाको कमाण्डमा खटिएको टोलीले प्रदर्शनकारीलाई मुख्य गेटभित्रै रोक्दै सम्झाइ(बुझाइ गर्ने प्रयास गरेको थियो।
हाल आयोग परिसरमा स्तरोन्नति भई गण बनेको सशस्त्र प्रहरी बल, नेपाल नं. १८ बाघभैरव गणले फागुन २१ मा घोषणा भएको प्रतिनिधि सभा सदस्य निर्वाचन-२०८२ का सन्दर्भमा दल दर्ता लगायतका कार्यमा आयोगलाई निरन्तर सुरक्षा प्रदान गर्दै आएको छ।







