काठमाडौँ । सभामुख देवराज घिमिरेले सभामुख र उपसभामुखको पदावधिको विषयमा परामर्श सुरु गरेका छन् ।
विगतको अभ्यास के छ भनेर उनले बुधबार प्रतिनिधि सभाका सचिव हर्कराज राई, संघीय संसद् सचिवालयका सहसचिव एवं प्रवक्ता एकराम गिरी लगायतसँग छलफल गरेका छन् ।
सभामुख घिमिरेको सचिवालयले सभामुखले विगतको अभ्यास के कसो छ भनेर अनौपचारिक छलफल गरेको जानकारी दिएको छ । संविधानको धारा ९१ मा सभामुख र उपसभामुखको पदावधिको विषय छ ।
गत २७ भदौमा प्रतिनिधिसभा विघटन भएको थियो । विधानको यही व्यवस्थाअनुसार सभामुख र उपसभामुख दुवै पदमा बहाल छन् । प्रतिनिधि सभाको अर्को निर्वाचन आगामी २१ फागुनका लागि तोकिएको छ ।
प्रतिनिधि सभा निर्वाचन अन्तर्गत समानुपातिकतर्फ निर्वाचन लड्न चाहने दलले यही १३ र १४ पुसमा समानुपातिक तर्फका उम्मेदवारको बन्द सूची पेस गर्नुपर्ने समय छ । प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता भने भने आगामी ६ माघमा गर्ने कार्यतालिका छ ।







