काठमाडौँ। मुटु र मिर्गौलाको उपचार गरेबापत पाउनुपर्ने करिब १८ करोड रुपैयाँ तत्काल भुक्तानी दिन बुटवलस्थित गौतम बुद्ध सामुदायिक मुटु अस्पतालले सरकारसँग माग गरेको छ ।
मुटु र मिर्गौलाका बिरामीहरूको उपचार गरेबापत सरकारबाट २० करोड ३९ लाख ३१ हजार ८७९ प्राप्त गर्न बाँकी रहेकोमा दुई करोड ५८ लाख २२ हजार ५०० रुपैयाँ मात्र भुक्तानी पाएकाले नि:शुल्क उपचार सेवा रोक्नुपर्ने बाध्यात्मक अवस्था सिर्जना भएको अस्पतालले जनाएको छ ।
अस्पतालले बुटवलमा पत्रकार सम्मेलन गरी नेपाल सरकारबाट भुक्तानी पाउन बाँकी १७ करोड ८१ लाख रुपैयाँ पुस मसान्तसम्म प्राप्त नभएमा माघ १ गतेदेखि मिर्गौलाका बिरामीहरूको नि:शुल्क डायलाइसिस सेवा र मुटु उपचारमा प्रदान गर्दै आएको एक लाख रुपैयाँ बन्द गर्न बाध्य हुने जानकारी गराएको छ ।
करोडौँ रकम भुक्तानी पाउन बाँकी रहेकाले अस्पताल आर्थिक संकटमा परी अन्य उपचार सेवा प्रभावित हुने अवस्था सिर्जना भएको अस्पतालका अध्यक्ष एजाज आलमले गुनासो गरेका छन् ।
सरकारले सञ्चालन गरेको विपन्न नागरिक औषधि(उपचार कार्यक्रमअन्तर्गत यस वर्ष मात्रै एक हजार ३८४ जना मुटुका बिरामीलाई चार करोड ६४ लाख ८९ हजार १४ रुपैयाँ बराबर र मिर्गौला बिरामीहरूको डायलाइसिसको १३ करोड ९४ लाख ६५ हजार बराबरको ५५१ जनाको डायलाइसिस गरिएको अस्पतालले जनाएको छ ।
मुटु र मिर्गौलाका गरी वर्ष मात्रै १८ करोड ५९ लाख ५४ हजार १४ रुपैयाँ बराबरको उपचार सेवा प्रदान गरिएको छ ।







