काठमाडौँ। मानव बेचविखनको जोखिमपूर्ण यात्रामा रहेका ५४५ जना महिलाको यहाँस्थित नेपाल-भारत सीमाको जमुनाहा नाकाबाट गत वर्षमा उद्धार गरिएको छ ।
माइती नेपाल नेपालगन्जले मानवबेचविखनको जोखिममा देखिएपछि नाकाबाट भारत जान लागेका विभिन्न जिल्लाका ५४५ जना महिलाको गत वर्षको अवधिमा उद्धार गरेको जनाएको छ । सो जानकारी माइती नेपालले बुधवार यहाँ आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा गराएको छ ।
माइती नेपाल नेपालगन्जका संयोजक केशव कोइरालाले मानव बेचविखनका लागि निकै संवेदनशील नाका बनेको नेपालगन्ज नाकाबाट हरेक वर्ष धेरै ठुलो संख्यामा महिला तथा युवतिहरू रोजगारी वा अन्य कुनै बहानामा जोखिमपूर्ण तरिकाले भारतको विभिन्न ठाउँमा पुगिरहेको बताए ।
उनले गत एक वर्षमा भारतको जोखिमपूर्ण यात्रामा रही नियन्त्रणमा लिइएको ५४५ जनालाई परामर्श दिएर सिधै अभिभावकको जिम्मा लगाइएको बताए । नाकामा चेकजाँचमा कडाइ बढाउँदै शंका लागेमा सोधपुछ र रोक्ने कार्य तीव्र पारिएपछि अन्य साइड नाका र नयाँ–नयाँ तरिकाले महिला र युवतिलाई सीमा पार गराउने काम हुन थालेको पाइएको संयोजक कोइरालाले बताए ।
उनले पछिल्लो समय नयाँ प्रविधिको प्रयोग गरेर दलालहरूले महिला र युवतिलाई जोखिमपूर्ण रोजगारीका लागि सहमत गराउने गरिएको पाइएको बताए । माइती नेपाल नेपालगन्जले सन् २००२ सालदेखि नै नेपालगन्जस्थित जमुनाहा नाकामा आफ्नो युनिट राखेर जोखिमपूर्ण यात्रामा भारत जाने महिलालाई रोक्दै आएको छ ।
नेपाल–भारत जमुनाहा नाकामा अन्य विभिन्न संघ संस्थाले पनि जोखिमपूर्ण रोजगारीमा जान लागेका र मानव बेचविखनको जोखिममा रहेका नेपाली महिला तथा युवतिहरूको उद्धार गर्दै आएका छन् ।







