काठमाडौँ । उपाध्यक्षले पालिकाका कर्मचारीलाई कुटपिट गरेको पाइएको छ । जाजरकोटको जुनिचाँदे गाउँपालिकाका उपाध्यक्ष बिरेन्द्र बहादुर शाहीले मदिरा सेवन गरी गाउँपालिकामा कार्यरत कार्यालय सहयोगी लालबहादुर शाहीलाई कुटपिट गरेका छन्।
घटना बुधबार साँझ करिब पाँच बजे भएको हो। पालिकाका एक कर्मचारीका अनुसार क्यान्सर पीडित सेवाग्राहीको सिफारिस पत्र दर्ता गर्ने क्रममा कार्यालय सहयोगी शाही कुटिएका हुन्। यसबाट उनको शरीरमा चोटपटक लागे पनि गहिरो चोट भने नलागेको जनाइएको छ।
निमित्त प्रमुख प्रशासकीय अधिकृत दलबहादुर बुढाले भने, “हातपात गरेको हामीले प्रत्यक्ष देखेका छैनौँ। पीडित कर्मचारीले बताए अनुसार घटना बारे गाउँपालिकाका सबै जनप्रतिनिधि र कर्मचारीबीच बिहीबार छलफल गरिएको थियो । छलफलको क्रममा मिल्ने विषयमा कुरा भयो, तर त्यसपछि के भयो भन्नेबारे मलाई जानकारी छैन।”
यसबारेमा उपाध्यक्ष शाहीसँग कुरा गर्न खोज्दा उनीसँग सम्पर्क हुन् सकेन् । केही समयअघि उपाध्यक्ष शाहीले मदिरा सेवन गरेर कार्यालय समयमा गाउँपालिकाको योजना शाखामा प्रवेश गरेर कम्प्युटर तोडफोड गरेका थिए ।
तोडफोडबाट पालिकाको दुई थान कम्प्युटर फुटेको थियो । यो भन्दा अगाडी पनि आफ्नै कार्यकक्षमा मदिरा सेवन गरेर जथाभाबी बोलेको उनको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो ।







