काठमाडौँ । खानेपानी मन्त्री डा. मदनप्रसाद परियारले आज पदभार ग्रहण गरेका छन् ।
कृषि तथा पशुपन्छी विकास मन्त्रीको जिम्मेवारीसमेत सम्हाल्दै आएका मन्त्री परियारलाई आइतबार प्रधानमन्त्रीद्वारा खानेपानी मन्त्रालयको अतिरिक्त जिम्मेवारी तोकिएको थियो ।
सिंहदरवारस्थित खानेपानी मन्त्रालयमा आयोजित कार्यक्रममा पदभार ग्रहण गर्दै मन्त्री परियारले देशभरका नागरिकलाई शुद्ध, सुरक्षित तथा दिगो खानेपानीको पहुँच सुनिश्चित गर्न मन्त्रालयले प्राथमिकताका साथ काम गर्नुपर्नेमा जोड दिए ।
उनले खानेपानी तथा सरसफाइका क्षेत्रमा देखिएका समस्या समाधानका लागि योजनाबद्ध रूपमा काम अघि बढाइने बताए । विशेष गरी ग्रामीण तथा दुर्गम क्षेत्रका नागरिकलाई प्राथमिकतामा राख्दै कार्यक्रमहरू कार्यान्वयन गरिने उनले उल्लेख गरे।
यसैगरी मन्त्री परियारले मधेस प्रदेशमा अधुरा अवस्थामा रहेका खानेपानीको योजनाहरू शीघ्र सम्पन्न गर्ने प्रस्तावलाई सदर गरेका छन् । यसले त्यहाँका नागरिकलाई प्रत्यक्ष रूपमा लाभ पुग्ने विश्वास लिइएको छ ।







