काठमाडौँ। नेपाल जेन जेड फ्रन्टका सदस्य यतिष ओझा र मनिष खनाल आसन्न प्रतिनिधि सभाको निर्वाचन लड्ने भएका छन् ।
अधिवक्तासमेत रहेका उनीहरू जेन जेडफ्रन्टको समर्थनमा चुनाव लड्ने भएका हुन् ।
ओझा झापा क्षेत्र नं. ५ बाट चुनाव लड्ने छन् भने खनाल नवलपुर-२ बाट चुनाव लड्ने तयारीमा छन् । यदि झापा–५ मा बालेन साह उठ्ने भएमा ओझाले झापाकै अरु कुनै क्षेत्रबाट उठ्ने तयारीमा छन् ।
भाद्र २३ र २४ मा भएको जेन जेड आन्दोलनमा अग्रपङ्क्तिमा सहभागी भएका र आन्दोलनपश्चात् त्यसका एजेण्डा स्थापित गर्न तथा म्यान्डेट कार्यान्वयन गराउन निरन्तर सक्रिय रहेका ओझा र खनाल अब संसदीय राजनीतिमा प्रवेश गर्ने तयारीमा रहेको नेपाल जेन जेड फ्रन्टका संगठन प्रमुख युजन राजभण्डारीले बताएका छन् ।
राजभण्डारीका अनुसार जेन जेड फ्रन्ट पार्टीगत राजनीति गर्न मात्रै गठन गरिएको मोर्चा होइन । फ्रन्टभित्र सडकमै खबरदारीको लागि रहनेहरू सँगै संसदीय राजनीतिमा जान चाहनेहरू पनि छन् । कतिपय सदस्यहरू तत्कालका लागि स्थानीय तह वा प्रदेश स्तरमा राजनीति गर्ने तयारीमा छन् ।







