काठमाडौँ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा काठमाडौँ तारकेश्वर नगरपालिका–५ बस्ने झापा अर्जुनधारा नगरपालिका–६ घर भएका ५१ वर्षीय धर्म प्रसाद राई, काठमाडौँ तारकेश्वर नगरपालिका-७ बस्ने ३५ वर्षीया निमा डोल्मा लामा, काठमाडौँ कागेश्वरी मनोहरा नगरपालिका–९ बस्ने झापा अर्जुनधारा नगरपालिका–५ घर भएका ४२ वर्षीय गोविन्द प्रसाद निरौला र काठमाडौँ महानगरपालिका–१३ बस्ने गोरखा गण्डकी गाउँपालिका-१ घर भएका ४३ वर्षीय सुरज बहादुर श्रेष्ठ रहेका छन् ।
पक्राउ मध्ये धर्म प्रसादले अष्ट्रिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट ५ लाख ८५ हजार रुपैयाँ, निमाले बेलायत पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट ५० लाख रुपैयाँ, गोविन्द प्रसादले टर्की पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट २ लाख ३ हजार रुपैयाँ र सुरजले रोमानिया पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट ७ लाख ५० हजार रुपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले धर्म प्रसादलाई काठमाडौँ महानगरपलिका–२६ बाट र निमालाई काठमाडौँ महानगरपालिका–६ बाट शुक्रबार तथा गोविन्द प्रसादलाई काठमाडौँ कागेश्वरी मनोहरा नगरपालिका–९ बाट र सुरजलाई काठमाडौँ महानगरपालिका–२६ बाट सोमबार पक्राउ गरेको हो ।
उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौँ पठाइएको छ ।







