काठमाडौँ। प्रतिनिधि सभा निर्वाचन-२०८२ अन्तर्गत चितवन क्षेत्र नम्बर–३ बाट उम्मेदवार रहेकी रेनु दाहालले निर्वाचन परिणाम सार्वजनिक भएपछि मतदाताप्रति कृतज्ञता व्यक्त गर्दै जनताको निर्णयलाई सम्मान गर्ने बताएकी छन्।
दाहालले सामाजिक सञ्जालमार्फत दिएको प्रतिक्रियामा आफूले लामो समयदेखि जनताको आवश्यकता र आकांक्षालाई केन्द्रमा राखेर राजनीति गरेको उल्लेख गरेकी छन्।
करिब तीन दशकको राजनीतिक यात्रामध्ये झण्डै नौ वर्ष उनले भरतपुरको विकास, समृद्धि र सुशासनका लागि समर्पित गरेको पनि उनले स्मरण गरेकी छन्।
उनका अनुसार विकासका कामलाई प्रभावकारी रूपमा अघि बढाउन नीतिगत तहमा सुधार आवश्यक रहेको महसुस भएपछि नगर प्रमुखको कार्यकाल करिब १५ महिना बाँकी रहँदै उनले पद त्यागेर प्रतिनिधि सभा निर्वाचनमा प्रतिस्पर्धा गर्ने निर्णय लिएकी थिइन्।
दाहालले निर्वाचन परिणामलाई स्वीकार गर्दै आफूले कार्यद्वारा मतदाताको विश्वास जिते पनि मत परिणाममा भने सफलता हासिल गर्न नसकेको उल्लेख गरेकी छन्। उनले उक्त क्षेत्रमा जित नजिक रहेकी रास्वापाकी उम्मेदवार सोविता गौतमलाई बधाई दिँदै आगामी दिनमा चितवनको विकास र जनताको हितमा काम गर्न सफलताको कामना व्यक्त गरेकी छन्।
साथै उनले आफूलाई विश्वास गरेर मतदान गर्ने मतदाताप्रति आभार प्रकट गर्दै चुनावी अभियानमा सक्रिय रूपमा सहयोग गर्ने पार्टीका नेता–कार्यकर्ता, समर्थक, सञ्चारकर्मी तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूलाई धन्यवाद व्यक्त गरेकी छन्।
दाहालले भविष्यमा पनि चितवनवासीको हित, विकास र समृद्धिका पक्षमा निरन्तर सक्रिय रहने प्रतिबद्धता व्यक्त गरेकी छन्।







