काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रधानमन्त्रीमा नियुक्त भएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाहले अहिले केहीबेरमा शीतल निवासमा पद तथा गोपनीयताको शपथ लिँदै छन् । शपथसँगै उनी देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट नेपालको कार्यकारी नेतृत्व सम्हाल्ने छन् ।
संविधानको धारा ७६ (१) अनुसार बहुमत प्राप्त दलका नेताका रूपमा नियुक्त भएका शाह ३६ वर्षको उमेरमै मुलुकको कार्यकारी प्रमुख बन्ने चरणमा पुगेका हुन् । फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा झापा क्षेत्र नं. ५ बाट ६८ हजार ३४८ मतसहित विजयी भएका उनले संसद्को पहिलो कार्यकालमै प्रधानमन्त्री बन्ने अवसर पाएका छन् ।
रास्वपा प्रवेश गरेको करिब तीन महिनामै प्रधानमन्त्री बनेका शाह पुस १३ मा रास्वपा प्रवेश गरेका थिए ।
काठमाडौँ महानगरपालिकाको प्रमुख हुँदै संघीय राजनीतिमा प्रवेश गरेका शाह २०७९ सालको स्थानीय तह निर्वाचनमा स्वतन्त्र उम्मेदवारका रूपमा मेयर निर्वाचित भएका थिए । त्यसअघि र्यापर र सामाजिक अभियन्ताका रूपमा परिचित उनी महानगर प्रमुख बनेपछि राष्ट्रिय राजनीतिको केन्द्रमा आएका हुन् ।
काठमाडौँ महानगरको नेतृत्व सम्हाल्दा उनले सेवा प्रवाह सुधार, डिजिटल प्रणालीको प्रयोग, सार्वजनिक संरचना व्यवस्थापन र मापदण्ड कार्यान्वयनमा कडाइका साथ अघि बढेका थिए । अवैध संरचना हटाउने ‘डोजर अभियान’, टुकुचा खोला उत्खनन, सार्वजनिक सेवा सुधार तथा कार्यपालिका बैठक प्रत्यक्ष प्रसारणजस्ता निर्णयले उनलाई कठोर र परिणाममुखी नेतृत्वका रूपमा स्थापित गरेको थियो ।
इन्जिनियरिङ पृष्ठभूमिका शाहले ह्वाइट हाउस इन्स्टिच्युट अफ टेक्नोलोजीबाट सिभिल इन्जिनियरिङ र भारतको विश्वेश्वरैया प्राविधिक विश्वविद्यालयबाट स्ट्रक्चरल इन्जिनियरिङमा स्नातकोत्तर गरेका छन् । २०७२ सालको भूकम्पपछि पुनर्निर्माण तथा राहत कार्यमा सक्रिय सहभागिताले उनको सार्वजनिक छवि थप सुदृढ बनाएको थियो ।
सामाजिक सञ्जालमार्फत् संक्षिप्त र स्पष्ट अभिव्यक्ति दिने शैलीका लागि परिचित शाह कम बोल्ने तर कार्य केन्द्रित नेतृत्वका रूपमा चिनिन्छन् । चुनावी अभियानका क्रममा उनले विकास, सुशासन, डिजिटल शासन र सीपमा आधारित रोजगारीलाई प्राथमिकतामा राख्ने धारणा सार्वजनिक गरेका थिए ।
जेन जेड आन्दोलनपछिको राजनीतिक परिवेशमा उदाएका शाह युवा मतदाताको रोजाइका रूपमा स्थापित भएका छन् । परम्परागत राजनीतिक शक्तिप्रति असन्तुष्टि बढिरहेका बेला वैकल्पिक नेतृत्वको खोजीमा रहेको जनमतले उनलाई सशक्त समर्थन दिएको थियो ।
संघीय संरचनालाई सुदृढ बनाउने, प्रशासनिक सुधार अघि बढाउने र विकासलाई परिणाममुखी बनाउने अपेक्षाबीच शाहले कार्यकाल सुरु गर्न लागेका छन् । प्राविधिक पृष्ठभूमिको नेतृत्वबाट योजनाबद्ध रूपमा मात्रै होइन, तथ्यमा आधारित शासनको अपेक्षा आम नागरिकले गरेका छन् ।







